चितवनमा पनि चिनियाँ अपराधीको चलखेल, रातारात भागे सयौँ, दुई जना पक्राउ

महिनौँदेखिको शंकास्पद गतिविधि किन थाहा पाएन प्रहरी र प्रशासनले ?

सफल खबर संवाददाता

शनिबार, १२ पुस २०७६, १८ : ०८
चितवनमा पनि चिनियाँ अपराधीको चलखेल, रातारात भागे सयौँ, दुई जना पक्राउ

चितवन । पाँच दिनअघि काठमाडौँँमा शंकास्पद गतिविधि गरेको आरोपमा एक सय जनाभन्दा बढी चिनियाँ नागरिक समातिएको घटना सेलाउन नपाउँदै चितवनमा पनि चिनियाँ अपराधीको चलखेल भएको खुल्न आएको छ । काठमाडौँमा सयभन्दा बढी चिनियाँ पक्राउ परेपछि चितवनबाट रातारात सयौँ चिनियाँ भागेका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले भरतपुरको सिजी ल्याण्डमार्कबाट दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ । चितवनमा बसेर साईबर अपराध गर्न थालेको भन्ने शंकाका आधारमा उनीहरुलाई पक्राउ गरेर म्याद थप गरी अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले बताउनु भयो । 

बिगत केहि महिनादेखि तीन सय जति चिनियाँहरु चितवनको भरतपुर बसपार्क क्षेत्रका घरहरुमा स्वाभाविकभन्दा अत्याधिक बढी भाडा तिरेर दर्जन बढी घरमा भाडामा बस्दै आएका थिए । उनीहरुले भरतपुरकै एक पार्टी प्यालेस समेत भाडामा लिएर त्यहीँबाट आफ्ना कामहरु गर्दै आएको स्थानीयहरुले बताए । 

३० हजार भाडामा गएको घरलाई उनीहरुले २ लाखसम्म तिर्ने गरी सम्झौता गरी बसेको र त्यहाँ उनीहरु ईन्टरनेट र ल्यापटपका माध्यमबाट कामहरु गर्ने गरेको स्थानीयहरु बताउँछन् । स्थानीयहरुका अनुसार एक जनाले १ भन्दा धेरै ल्याप्टप प्रयोग गरी काम गर्ने गरेका थिए ।

चिनियाँहरुले रातदिन घरभित्रै बसी ल्यापटपमा काम गर्ने र बिभिन्न किसिमका शंकास्पद गतिबिधि समेत गर्न थालेपछि आफूहरुले प्रशासनमा खबर गरेको स्थानीयवासीले बताए । स्थानीयहरुका अनुसार असोज महिनादेखि चिनियाँहरु यहाँ बस्दै आएका हुन् । 

काठमाडौँमा एटीएम ह्याक गरी करोडौँ रुपैयाँ लुटपाटमा संलग्नहरु दशैँताका नै पक्राउ परेका थिए । त्यतिबेला चितवन प्रहरीले केहि दिन चिनियाँहरु बसेको स्थानमा भ्यान पठाउन थालेपछि सयौँको संख्यामा चिनियाँहरु रातारात आफ्ना उपकरणसहित भागेको स्थानीयहरुले बताए ।

त्यहाँ रहेका अन्य सय जनाभन्दा बढी चिनियाँहरुले त्यस्तै गतिविधि जारी राखेको र केहि दिन अगाडि काठमाण्डौँबाट सयौँको संख्यामा चिनियाँहरु पक्राउ परेपछि बाँकी चिनियाँहरु पनि यहाँबाट भागेको स्थानिय बासिन्दाहरु बताउँछन् ।
चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले चिनियाँहरुले शंकास्पद गतिबिधि गरेको भन्ने सूचना पाएपछि उनीहरुलाई त्यहाँबाट लखेटेको  बताउनु भयो । ती चिनियाँहरु आफ्ना उपकरणसहित  ३ हप्ता अगाडि यहाँ आएको जानकारी पाएको बताउँदै प्रहरी प्रमुख मल्लले उनीहरुले यहाँ साईबर अपराध गर्ने योजना बनाएको र सोही अनुरुपका गतिबिधि गरेको भन्ने सुचना आफुलाई आएपछि आफु त्यहाँ पुगी उनीहरुको डकुमेन्ट र भिषा मागेपछि उनीहरुले चितवनमा काम गर्न पाउने कागजात देखाउन नसकेपछि यहाँबाट भागिहाल भनी आफुले पठाएको बताउनु भयो । 

प्रहरी प्रमुख मल्लका अनुसार उनीहरुले काठमाण्डौँमा काम गर्ने गरि अनुमति लिएका तर टुरिष्ट भिषामा आएका थिए । उनीहरु यहाँबाट भागेपछि आफुहरुले उनीहरु बसेको घर तथा पार्टी प्यालेसमा सिल गरेको र थप अनुसन्धान भइरहेको मल्लले बताउनु भयो ।  अहिले प्रहरीले यसअघि चिनियाँ बसेका आधा दर्जनभन्दा बढी स्थानीयका घरहरुमा शिल गरेको छ । राजनितिक संरक्षणमा चिनियाँहरु  यहाा बसेको र उनीहरुलाई ठुलै संरक्षण रहेको स्थानीयवासीहरु दाबी गर्छन् ।

सुविधासम्पन्न कम्प्युटर ल्याब, सीमकार्ड र मोबाइल कति कति

शरदपुर क्षेत्रमा महँगो भाडा तिरेर सिंगो घर र पार्टी प्यालेसमा बस्दै आएका चिनियाँहरु सबैले ल्यापटप बोक्थे । उनीहरुले आफू बस्ने घरमा सुविधासम्पन्न कम्प्युटर ल्याब नै बनाएका थिए । सबै ल्यापटपमा इन्टरनेट जडान गरी उनीहरुले शंकास्पद गतिविधि गर्दै आएका थिए ।

स्थानीयहरुका अनुसार उनीहरु एकै जनाले चार, पाँच वटा मोबाइल बोक्थे । उनीहरुले एनसेल मोबाइलको सीम कार्ड धेरै संख्यामा निकालेका थिए । भागेका चिनियाँहरुले एनसेलका दर्जनौँ सीम कार्ड छरपस्ट फालेको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस