कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश २ को प्रदेशसभा बैठक स्थगित

सफल खबर संवाददाता

मंगलबार, १४ बैशाख २०७८, ०९ : ०२
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश २ को प्रदेशसभा बैठक स्थगित

file photo

जनकपुर ।  प्रदेश २ को प्रदेशसभाको आजका लागि निर्धारित बैठक सचिवालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयले सूचना जारी गरेर मंगलवार बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक अर्को सूचना नहुन्जेलसम्म स्थगित गरिएको जनाएको छ । तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि बैठक स्थगित गर्नुपरेको सचिवालयका एक अधिकारीले जानकारी दिए ।

झण्डै ६ महिनापछि पाँचौं अधिवेशन गत चैत ३० गते सुरु भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्नेबारे प्रस्ताव आह्वान गरेको थियो ।

वैशाख १० गते बसेको प्रदेशसभा बैठकमा राजधानीका विषयमा दर्ता भएको प्रस्तावमाथि छलफल भयो । आज बस्ने भनिएको बैठकमा प्रदेशको नामाकरण विषयमा छलफलको कार्यसूची थियो । तर बैठक स्थगित भएपछि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया लम्बिने भएको छ ।

प्रतिक्रिया दिनुहोस