चामलको कोटा स्वीकृत

रासस

आइतबार, १२ बैशाख २०७८, १९ : ५१
चामलको कोटा स्वीकृत

काठमाडौं । रुकुम (पूर्व) का लागि एक हजार क्विन्टल चामलको कोटा स्वीकृत भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिल्लाका लागि एक हजार क्विन्टल चामलको कोटा निर्धारण गरी स्वीकृत गरेको हो । योसँगै रुकुमकोटबाट खाद्यको चामल बिक्री वितरण गर्न शुरुसमेत गरिएको छ । 

लिमिटेडले जिल्लाको दुई ठाउँमा खाद्यको चामल आपूर्ति गर्ने गरेको छ । जिल्ला सदरमुकाम रुकुमकोट र पुथाउत्तरगङ्गा गाउँपालिकाको तकसेरामा आपूर्ति हुने गरेको खाद्य कम्पनीले जनाएको छ ।

चालू आर्थिक वर्षका लागि रुकुमकोटमा ५०० क्विन्टल र तकसेराका लागि ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ । जिल्लामा छुट्टै खाद्यको शाखा कार्यालय स्थापना नहुँदा अहिले रुकुम (पश्चिम) शाखा वितरण कार्यालयमार्फत रुकुम (पूर्व) मा चामल आपूर्ति भइरहेको छ । 

दुईवटा जिल्लाको काम एकै ठाउँबाट गर्न असहज भए पनि अहिले दुईवटा जिल्लामा चामल आपूर्तिको काम गर्नुपर्ने बाध्यता रहेको रुकुम (पश्चिम) खाद्य डिपो कार्यालयका निमित्त शाखाप्रमुख चन्द्रबहादुर खड्काले बताउनुभयो ।

उहाँका अनुसार रुकुम (पूर्व) मा ४२० क्विन्टल खाद्यको चामल आइसकेको छ भने बाँकी चामल आउन बाँकी छ । तकसेरामा ३६० क्विन्टल र रुकुमकोटमा ६० क्विन्टल चामल पुगिसकेको छ । जिल्लामा ५८० क्विन्टल चामल भित्रिन बाँकी रहेको रुकुम (पश्चिम) डिपो कार्यालयका निमित्त प्रमुख खड्काले बताउनुभयो । बाँकी चामल असार मसान्तभित्रै जिल्लामा ल्याइसक्ने उहाँको भनाइ छ । 

जिल्ला मोटो चामल, सोना मन्सुली र जिरा मसिना चामल आइपुगेको छ । रुकुमकोटमा भने सिस्ने गाउँपालिका–६ छिप्रीदहस्थित समथिङ स्टोर पसलबाट खाद्यको चामल बिक्री वितरण भइरहेको रुकुमकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष यज्ञप्रकाश मल्लले जानकारी दिनुभयो । तकसेरामा भने पहिलो चरणमा पुगेको चामल बिक्री भइसेकेको छ । 

प्रतिक्रिया दिनुहोस