कोरोना सङ्क्रमण फैलियो , तयारी छैन

रासस

आइतबार, १२ बैशाख २०७८, १३ : ४८
कोरोना सङ्क्रमण फैलियो , तयारी छैन

भजनी । पछिल्लो सयमा कोरोनाको सङ्क्रमण दरमा बृद्धि हुँदै गएको छ । यसका रोकथाम तथा नियन्त्रणमा कैलालीका स्थानीयले कुनै तयारी गरेका छैनन् । समुदायस्तरमै कोरोना फैलिसकेको बताइएको छ । 

स्थानीय तहले गर्ने स्वाब परीक्षण तथा एन्टिजेन्ट परीक्षण समेत बन्द गरेका छन् । कतिपयले बजेट अभावका कारण तयारीको काम अगाडि बढाउन नसकिएको बताएका छन् । टीकापुर नगरपालिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन । अहिले नगरपालिकामा कोरोना परीक्षणको काम समेत बन्द छ । 

नगरपालिकामा यही वैशाख १ गते  १४ जना पिसिआर पोजेटिभ र १३ जनामा एन्टिजेन्ट पोजेटिभ कोरोना सङ्क्रमित छन् भने दुई जनाको कोरोनाकै कारण ज्यान गएको छ । गत फागुनदेखि चैत मसान्तसम्म भारतबाट फर्किएका करीब १५० जनामा सङ्क्रमण पुष्टि भएको नगरपालिकामा जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिए ।             
      
“नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको बैठक बस्न सकेको छैन । नगरपालिकाको बैठक बसेर आवश्यक निर्णय गर्नुपर्ने भएकाले तयारीको प्रक्रिया अगाडि बढ्न नसकेको हो ।” उनले भने , “आज÷भोलिसम्म बैठक बस्छ । बैठक निर्णयनुसार हामी कामलाई अगाडि बढाउने छौँ ।”

उनले नगरपालिकामा कोरोना परीक्षण नहुँदा  शङ्कास्पद बिरामी नेपालगञ्ज, धनगढी गएर परीक्षण गराउँदै आएको बताउँदै धनगढीको तथ्याङ्क नगरपालिकालाई जानकारी गराउने गरेको भए पनि नेपालगञ्जको तथ्याङ्क नगरपालिकामा नआउने गरेको जानकारी दिए।

“हामीसँग ३८ श्ययाको आइसोलेशन  वार्ड तयारी अवस्थामा छ । त्यसैलाई सञ्चालनको तयारी गर्दैछौँ”, उनले भने , “स्थिति पहिलेकोभन्दा पनि नराम्रो हुने सङ्केत देखा पर्दै गएका छन । हामी सबै सचेत हुनुको अर्को कुनै विकल्प छैन ।” 
   
भजनी नगरपालिकाले पनि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि  काम अगाडि बढाएको छैन । नगरपालिकाका कोभिडको शीर्षकमा बजेट  छैन । भारतीय सीमासँग सिमाना जोडिएको भजनी कोरोनाको उच्च जोखिममा छ । 

प्रतिक्रिया दिनुहोस