कोरोना कहर : धमाधम होटल बुकिङ रद्द

रासस

आइतबार, १२ बैशाख २०७८, ०७ : १४
कोरोना कहर : धमाधम होटल बुकिङ रद्द

सांकेतिक तस्विर

बागलुङ । बागलुङमा कोरोना जोखिम बढेसँगै चलायमान हुँदै गरेको होटल व्यवसाय पुनः सङ्कटमा पर्न थालेको छ । कोरोनाका कारण धरासायी बन्न थालेका होटलहरु केही महिनायता राम्रो चले पनि बागलुङ कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा परेको खबर सार्वजनिक भएपछि होटल व्यवसाय प्रभावित हुन थालेको होटल व्यवसायी बताउँछन् । 

कोरोनाको जोखिमयुक्त १४ जिल्लाको सूचीमा पर्नु र बागलुङका पर्यटकीय क्षेत्र वैशाख मसान्तसम्म बन्द गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङको निर्णयका कारण होटलमा अग्रिमरूपमा भएको बुकिङसमेत धमाधम रद्द भएको होटल व्यवसायीले गुनासो गरेका छन् ।  

प्रशासनले भिडभाड हुने पर्यटकीय क्षेत्रमा वैशाख मसान्तसम्म प्रवेशमा रोक लगाएपछि झण्डै जिल्लाका ५०० बुकिङ रद्द भएको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए। “जिल्लामा अवलोकन भ्रमण गर्नेको चाप ह्वात्तै बढेको थियो तर कोरोनाको जोखिम बढेको भन्दै पर्यटकीय स्थलमा वैशाख ८ गतेदेखि प्रवेशमा रोक लगाइएपछि अग्रिम बुकिङ भएका होटलहरु धमाधम रद्द भएको हो”, राजभण्डारीले भने, “कोरोनाले थलिएका होटल व्यवसाय उठ्न थालेको समयमा पुनः समस्या परेको छ, अन्य जिल्लाको तुलनामा बागलुङमा बढी असर परेको देखिन्छ, सबै सचेत हुन जरुरी छ ।”

कोरोना जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय बागलुङले मठ मन्दिर प्रवेश गर्न र सभा सम्मेलन गर्न रोक लगाएपछि होटलहरु सुनसान भएका हुन् । लामो समय कोरोनाले गर्दा ठप्प भएका होटल व्यवसाय लकडाउन खुुलेपछि सञ्चालनमा आएका थिए तर पुनः कोरोना जोखिम बढेसँगै व्यापार व्यवसाय चल्न छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस