कोरोना कहर : संक्रमितसँगै सुत्न बाध्य छन् कुरुवा

पत्रपत्रिकाबाट

शनिबार, ११ बैशाख २०७८, ०७ : ५०
कोरोना कहर : संक्रमितसँगै सुत्न बाध्य छन् कुरुवा

नेपालगन्ज । दुईवटा सर्जिकल मास्कले नेपालगन्जकी गीता चन्दको मुख छोपिएको थियो । उनका रसिला आँखामा भने त्रास र पीडा प्रस्ट झल्किन्थ्यो । भेरी अस्पतालमा कोरोना संक्रमित श्रीमान्‌को कुरुवा बसेकी उनलाई एकातिर कति बेला आफूलाई पनि संक्रमण हुने हो भन्ने डर छ भने अर्कातिर श्रीमान्को उपचार कहिले हुने हो भन्ने चिन्ता ।

अस्पतालबाहिर रहेको होटलमा शुक्रबार श्रीमान्का लागि दालको झोल किन्दै गर्दा उनले कान्तिपुरसँग आफूले पाइरहेका हैरानीबारे सुनाइन् । ‘चिसो भुइँमा थुप्रै कोरोना संक्रमितका बीचमा सुत्नुपर्छ,’ उनले भनिन्, ‘बिरामीले उपचार कहिले पाउने हुन् भन्ने पनि थाहा छैन, आफ्नै जीवन रहला, नरहला कुनै टुंगो छैन ।’ पर्याप्त ठाउँ र चुस्त व्यवस्थापनको अभावमा एउटालाई बचाउँदा अर्को व्यक्ति पनि संक्रमित हुने खतरा रहेको उनले बताइन् । ‘अस्पतालमा न सेनिटाइजर छ न त मास्क,’ उनले भनिन्, ‘यस्तोमा कसो गरी कोरोनाबाट बच्ने रु’

कोरोना उपचार केन्द्र बनेको भेरी अस्पतालमा संक्रमितको चाप थामिनसक्नु छ । त्यससँगै कुरुवाको संख्या पनि उत्तिकै छ । कतिसम्म भने संक्रमित र कुरुवा छुट्याउनसमेत सकिँदैन । बिरामीलाई कुर्दा आफैंलाई संक्रमणको त्रास बढेपछि कुरुवाहरू गीताझैं क्षुब्ध छन् । त्यसैमध्येका कुरुवा हुन्, दीर्घबहादुर तिरुवा । उनले कोरोना संक्रमित भाइलाई आईसीयूमा भर्ना गरेका छन् । अस्तव्यस्त हालतमा कुर्दाकुर्दा उनी आफैं संक्रमणको संघारबाट गुज्रिन बाध्य छन् । ‘भुइँमै रात बित्छ, भुइँमै दिन जान्छ,’ उनले सुस्केरा हाले, ‘यस्तो दुःख त कसैलाई नपरोस् ।’

बैजनाथ गाउँपालिका–४ बस्ने सुशीला थापाकी बहिनी संक्रमित भइन् । भारतबाट आएको केही दिनमा बिरामी परेकी बहिनीको उपचार गराउन अस्पताल ल्याएपछि उनमा संक्रमण पुष्टि भयो । संक्रमित बहिनीको रेखदेखका लागि कुरुवा बस्ने कोही नभएपछि गीताले नै साथ दिइरहेकी छन् । उनले अहिले अस्पतालमा कोरोना संक्रमितको बिजोग अवस्था देखेर मन खिन्न भएको बताइन् । उनका अनुसार सेवामा खटिएका स्टाफ नर्ससमेत आफू संक्रमित हुने डरले बिरामी हेर्न मान्दैनन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस