रामनवमी पर्व मनाइँदै

सफल खबर संवाददाता

बुधबार, ०८ बैशाख २०७८, १२ : ४९
रामनवमी पर्व मनाइँदै

काठमाडौं । आज रामनवमी पर्व, देशभर श्रद्धा भक्तिपूर्वक भगवान रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।चैत्र शुक्ल पक्षको नवमी तिथिका दिन मनाइने रामनवमी पर्व आज श्रद्धापूर्वक पूजा आरधना गरी देशभर मनाइँदैछ ।हिन्दू धर्मग्रन्थ रामायणका अनुसार आजको दिनलाई भगवान श्रीरामचन्द्रको जन्म दिनको रुपमा पनि मनाउने गरिन्छ । त्रेतायुगमा आयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको जेष्ठ सुपुत्रका रुपमा विष्णुको अवतार लिएर श्रीरामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । 

भगवान रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरुको संहार गरेको रामायणमा पढ्न पाइन्छ । त्यसैले असत्यमाथि सत्यको विजयको रुपमा लिइने पर्व रामनवमीको अवसरमा देशभरका राम मन्दिरहरुमा पूजा आराधना गरिन्छ । 

आजको दिन जनकपुरको रामजानकी मन्दिरमा भव्य पूजाआजा हुन्छ ।रामजानकी मन्दिरमा नेपाल तथा भारतबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । आज भगवान श्रीरामको व्रत, उपवास बस्ने र पूजा आराधना गर्नाले सुख, शान्ति मिल्ने धार्मिक विश्वास रहेको छ ।

यस वर्षपनि कोरोना संक्रमणको जोखिम भएकाले मन्दिरहरूमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मात्रै पूजा आराधना गर्न सरकारले सबैलाई आग्रह गरेको छ । कोरोना संक्रमणको महामारीका कारण राम मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको उपस्थिति न्यून देखिएको छ ।

प्रतिक्रिया दिनुहोस