महेन्द्रनगर । सात वर्षअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लागुऔषधका २३ वटा मुद्दा दर्ता थिए । आर्थिक वर्ष २०७०÷७१ सालमा सबैभन्दा बढी ११ किलोग्राम चरेश प्रहरीले बरामद गरेको तथ्याङ्क पनि छ ।
चरेश, नाइट्रोभेटलगायतका लागुऔषधको कारोवारी र प्रयोगकर्ता पक्राउ पर्ने गरेको विगतको तथ्यभन्दा यहाँ खैरो हिरोइन जस्तो उच्चकोटीको लागुऔषध सेवनकर्ता बढ्नुका साथै भारतबाट यसको आयात पनि बढेको प्रहरी भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पछिल्लो केही समययता जिल्लामा लागुऔषधको कारोवारको जालो भत्काउन प्रहरी सक्रिय भएर लागेको बताए ।
चालू आवको चैत महीनासम्मको तथ्याङ्कअनुसार प्रहरीले ४२५ ग्राम ५२० मिलिग्राम खैरोहिरोइन बरामद गरिसकेको छ । अरु लागुऔषधभन्दा आर्थिकरुपले पनि महङ्गो पर्ने खैरो हिरोइन सेवन गर्नेमा युवापुस्ता बढी संलग्न देखिएको छ ।
उनका अनुसार खैरोहिरोइनमा प्रहरीले केही महीनायता मात्रै १२२ लाई नियन्त्रणमा लिएर कारवाही थालेको छ । “अहिले ७४ वटा मुद्दा प्रहरीमा दर्ता भएर कानूनी कारवाहीको प्रक्रियामा छन्”, उनले भने , “खैरोहिरोइन मुद्दामा ७ जना भारतीय नागरिक पनि प्रहरी कारवाहीमा छन् ।”
प्रहरीले भारतबाट लुकिछिपी कञ्चनपुरको बेलौरी, बेल्डाँडी र पुर्नावास क्षेत्रबाट बढी आयात हुने गरेको जनाएको छ । “हामीले लागूऔषधमा कारबाही र समुदायमा सचेतना फैलाउने कार्यक्रम सँगसँगै थालेका छौँ”, उनले भने, “यो बीचमा भारतका लागुऔषध पैठारी गर्ने गिरोहका नाइके पनि पक्राउ परेका छन् ।”
केही महीनाअघि प्रहरीले बेलौरी नगरपालिकामा भारतबाट खैरोहिरोइनसहित नेपालतर्फ आइरहेका भारतीय युवकलाई गोली हानेर हत्यासमेत गरेको थियो ।प्रहरीले मुद्दा चलाएका अधिकांश लागुऔषध कारोवारमा संलग्न अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०७ बैशाख २०७८, १४ : २९
लेखकबाट थप