कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप

रासस

मंगलबार, ०७ बैशाख २०७८, १३ : ४५
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको कांग्रेसमा सो अवधि यही वैशाख १५ गतेसम्म निर्धारण गरेको छ । 

कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ वैशाख १५ गतेभित्र गरी सक्नुपर्ने अन्तिम मिति निर्धारण गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । वैशाख १५ गते राति १२ः०० बजे कम्प्युटर सफ्टवेयरमा क्रियाशील सदस्यताको ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतःबन्द गरिने बैठकले निर्णय गरेकाले यस अवधिलाई अन्तिम मानिएको छ । यस अघि सो कार्यतालिकाअनुसार जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची केन्द्रमा पठाउने अवधि गत चैत ३० गतेसम्म तोकिएको थियो ।

क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी जिल्लाको प्रतिवेदन भने वैशाख १७ गते साँझ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नुपर्ने बैठकले निर्णय गरेको छ । सफ्ट्वेयरमा ‘इन्ट्री’ भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले पार्टीको वेबसाइटमा सार्वजनिक गर्ने व्यवस्था गरिने पार्टी कार्यालयले जनाएको छ । 

त्यस्तै अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका सदस्यको क्रियाशील सदस्यता फारम यही वैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयले जिल्लालाई उपलब्ध गराउने, त्यस्ता फाराम सबै प्रक्रिया पूरा गरी जिल्ला कार्यसमितिले वैशाख मसान्तभित्र केन्द्रमा पु¥याइसक्नुपर्ने र त्यसको कम्प्युटर ‘इन्ट्री’ क्रियाशील सदस्यता छानबिन समितिले नै केन्द्रमा गर्ने गरी व्यवस्था गरिएको पार्टी कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस