सडक व्यापारले धानेको जीवन : ग्राहकले खाए पेट भरिन्छ

रासस

मंगलबार, ०७ बैशाख २०७८, १३ : ३०
सडक व्यापारले धानेको जीवन : ग्राहकले खाए पेट भरिन्छ

दाङ । घामको तातो एकातिर, आगोको राप अर्कातिर । शरीर पसिनाले भिजेको छ, हत्केलामा चिम्टा समाउँदा ठेला परेका छन् । कोइला र खरानीले मुहारमा दाग देखिन्छ । लमही नगरपालिका–५ निवासी प्रेमा वली यस्तै दैनिकीका साथ पाँच वर्षदेखि लमही बसपार्कको छेउमा मकै पोलेर बेच्दै आएकी छन् । साठी वर्षीया वलीले आफ्नै पाखुरीले कमाएको पैसाबाट जीवन चलाएकी छन् । श्रीमान्ले दोस्रो बिहे गरेर अलग्गै बस्न थालेदेखि आफ्ना दुःखका दिन शुरु भएको उनले बताए । 

Yeti Diistillery Tansen Cement box

दाङको देउखुरी क्षेत्रमा बाह्रै महिना मकैखेती हुन्छ । उनको मकै व्यापार पनि बाहै्र महिना हुन्छ । तातो घाममा आगोको रापमा पसिनाका धारा पुछ्दै मकै पोलेको कमाइबाट छोरालाई १२ कक्षासम्म पढाएको उनी बताउँछिन् । “मेरो सहारा भनेको त्यही एउटा छोरो हो । दुःखसुख गरेर छोराले पढेको छ, उसले राम्रो काम पाए त दुई चार रुपैयाँ कमाउँथ्यो तर भने जस्तो काम पाइँदैन”, उनले भनिन्, “गरिबको त सहारा पनि कोही हुँदो रहेनछ ।”

उनले बिहान किसानले बेच्न ल्याएको मकै खरीद गरेर बेलुकासम्म बेच्ने गर्छिन । दिनमा १०० वटा जति मकै बिक्री हुने गरेको उनी बताइन् । पोलेको एउटा मकै रु २५ मा बिक्री हुन्छ भने काँचो मकै बेच्दा रु २० मा बिक्री हुन्छ । 

घोराही उपमहानगरपालिका–१८ निवासी भीमीदेवी मल्ल सडकको किनारामा मकै पोलेर दैनिकी चलाउछिन् । उनी तातो घाम होस्, चाहे पानीको झरी किन नहोस्, आगोमा मकै पोली बटुवालाई कुरेर बसेको भेटिन्छन् । उमेर ७१ वर्ष भयो तर पनि दुुःखले उनलाई छाडेको छैन । घोराहीको व्यस्त सडक माध्यमिक विद्यालय रझेना जाने बाटोको छेउमा पीपलको चौतारीमुनि मकै पोलेर आफ्नो गुजरा चलाएकी छन् । आम्दानीको स्रोत नभएपछि मकै पोलेर भएको दुई चार रुपैयाँले खर्च चलाएको उनी बताउँछिन् । बिहानको खाना खाएर मकै खोज्न गाउँतिर जाने र दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म मकै पोल्ने गरेको उनले बताइन् ।

घर खर्च र बिरामीले थला परेका श्रीमान्को उपचार खर्च मकै पोलेर आएको पैसाबाट चलेको उनले बताइन् । उनका श्रीमान् दानबहादुर मल्ल दुई वर्ष अगाडिदेखि उच्च रक्तचापका कारण बिरामी छन् । हातगोडा चल्दैनन् । काम गर्न सक्दैनन् । दिनरात विछ्यौनामा ढलिरहन्छन् । श्रीमान्को औषधि खर्च र खाने खर्च सकिएपछि काममा हिँडेको भिमी बताउँछिन् । उनका दुई छोरा र एक छोरी छन् । 

गत वर्ष कोरोनाको मध्य समयबाट जीविका चलाउन मकै पोलेर बेच्न थालेको यस वर्ष पनि सोही व्यापार चलिरहेको छ । कोरोनाको डर पनि लागेन, भोकले मर्नुभन्दा रोगले मर्नु जाति भनेर मकै पोलेर बेच्न थालेको मल्ल बताउँछिन् । “दिनमा ३०÷४० घोगा मकै पोलेर बेच्ने गरेको छु, एउटा मकै १५ देखि २० रुपैयाँमा बिक्री हुन्छ । राम्रोसँग मकै चपाउने आफ्ना दाँत छैनन्, अरुलाई खुवाएर आफ्नो पेट पाल्न सजिलो भएको छ”, उनले भनिन् । 

“अलि रात प¥यो भने आँखाले देख्दैन, झिसमिसे साँझमै घरमा पुग्नुपर्छ । दिनभरि आगोमा मकै पोल्दा साँझ आँखा पिरो भएर धमिलो हुन्छ । दिनभरि घरमा एक्लै छोडेको श्रीमान्को स्याहारमा जुट्नुपर्छ”, उनले भनिन्, “उता श्रीमान् भोकाएर मेरै बाटो कुरेर बसेका हुन्छन् । कहिले खाना बनाउन जाँगर लाग्छ र पकाउँछु, जाँगर नलागेको दिनमा दिउँसो बचेको एक, दुई घोगा मकै खाएर रात कटाउने गर्छु । बिरामीले मकै खान सक्नुहुन्न, दूध र पाउरोटी खान दिएर सुत्छौँ ।” 

लमही नगरपालिका–६ की ३५ वर्षीय रुपा भण्डारीले लमही भालुवाङ सडक छेउमा मकै पोल्न थालेको तीन वर्ष भयो । लमहीमा मकै सधैँ सहजैरुपमा पाइन्छ । पूर्वपश्चिम सडकमा गाडी बिसाउने ठाउँमा मकै बेच्ने गरेको देखेर यात्रु आफैँ गाडी रोकेर मकै किन्न आउने गरेको उनले बताइन् । घरमा कमाउने कोही छैन, साँझ÷बिहान खानाको समस्या हुने गरेको छ”, रुपाले भनिन्, “दिनभरि मकै बेचेर आएको पैसाले घरमा खानेकुरा लगेर गुजारा चलाउने गरेकी छु ।” 
    
लमही बजारमा मकैको राम्रो व्यापार हुने गरेको र मकै बेचेको पैसाबाट चार जनाको परिवार पालिएको उनले बताइन् । उनले दैनिक रु ४०० देखि ७०० सम्म आम्दानी हुने गरेको बताइन् । बिहान ९ बजेदेखि मकैको व्यापार शुरु हुन्छ, गर्मीमा तातो घाम, वर्षाको झरीको कुनै प्रवाह नगरी मकै बिक्री गर्ने गरेको उनी बताउँछिन् । अन्य काम गर्नुभन्दा मकै पोलेर बेच्ने काम सजिलो लागेर यता लागेको उनी बताउँछिन् । 

घोराही, तुलसीपुर, लमहीका मुख्य सडकमा तातो घाममा मकै पोलेर धेरै महिलाले सङ्घर्ष गरेर जीवन निर्वाह गरिरहेका छन् । यस क्षेत्रमा अन्य आम्दानीको बाटो नभएपछि मकैको सहाराले जीवन चलाउनेको सङ्ख्या धेरै छ ।

पोलेको मकै खाँदा स्वादिलो मात्र होइन स्वास्थ्यवद्र्धक तथा पोषणयुक्त हुन्छ । यसमा प्रोटिन तथा कार्बोहाइडे«ट जस्ता पौष्टिक तत्व पाइने चिकित्सकको भनाइ छ । मकैमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन क्रियालाई सन्तुलित बनाउने गरेको प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेण्ट डा मीनचन्द्र अधिकारीले जानकारी दिए । 

उनले भने, “मकैले कोलेस्टोरको मात्रालाई नियन्त्रण गर्नुका साथै मुटुरोगको सम्भावनासमेत कम गर्छ । पोलेको मकै खाँदा हड्डी बलियो हुन्छ, स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।”

लमही नगरपालिका उपप्रमुख देवका बेलवासेले सडक छेउमा व्यापार गर्नेलाई व्यवस्थित गर्ने कामको थालनी गरिएको बताए । सबैले व्यापार गरेर खानलाई सजिलो होस् भनेर सुरक्षित तरिकाको बस्ने ठाउँको बन्दोबस्ती नगरपालिकाले गरेको उनी बताउँछन् । “गरिखाने वर्गलाई लक्षित गरेर व्यापार गर्ने ठाउँको व्यवस्था गरेका छौँ”, उनले भने, लमहीमा महिला पुरुष दुवै जनाले विभिन्न व्यापार गरका छन्, गरिखानलाई नगरपालिकाले व्यवस्थित ठाउँको प्रबन्ध गरेका छौँ ।”