पछिल्लो २४ घण्टामा ५५९ जना कोरोना सङ्क्रमित थपिए

रासस

सोमबार, ३० चैत्र २०७७, २१ : ०९
पछिल्लो २४ घण्टामा ५५९ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५५९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार १०५ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

चार हजार ३७८ जनाको पिसिआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  तीमध्ये सबैभन्दा बढी काठमाडौँमा १५९, ललितपुरमा ४४ र बाँकेमा ४१ जना रहेका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८० हजार ५२४ पुगेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १३८ रहेका छन् । योसँगै नेपालमा अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७४ हजार १६५ पुगेको छ । निको हुने दर भने ९७ दशमलव सात प्रतिशत रहेको छ । 

अहिले देशभर तीन हजार ३०६ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ८५ क्वारेन्टिनमा छन् । बाँकी आइसोलेशनमा छन् । हालसम्म नेपालमा २३ लाख १७ हजार २८४ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस