महामारीबीच वसन्त आरोहणले व्यवसायी उत्साहित

रासस

आइतबार, २९ चैत्र २०७७, १५ : १४
महामारीबीच वसन्त आरोहणले व्यवसायी उत्साहित

काठमाडौं । कोभिड–१९ महामारीकाबीच चलिरहेको वसन्त यामको हिमाल आरोहणबाट पर्यटन व्यवसायी निकै उत्साहित देखिएका छन् ।सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणमा आरोहीको आकर्षणले महामारीले शिथिल बनेको पर्यटन क्षेत्र चलायमान हुने उनीहरुको अपेक्षा छ । एकातर्फ प्रतिकूल परिस्थितिका बावजुद पनि पर्वतारोहणका लागि बाक्लो सङ्ख्यामा विदेशीको आगमन अर्कोतफ विशिष्ठ पाहुनाको आरोहणले नेपालको पर्वतीय पर्यटन तथा साहकिय पर्यटकीय गतिविधि सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन मद्दत पुगेको छ ।
    
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ४९ आरोही समूहलाई आरोहण अनुमति एक्सिपिडिसन पर्मिट दिएको छ । विभागको पछिल्लो विवरणमा हालसम्म ४९ आरोही समूहका ४१९ आरोहीले आरोहण अनुमति लिएका छन् ।
    
विभागले आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि छ । विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मकालु, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ । 
    
महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको पर्यटन व्यवसायीको बुझाइ छ । नेपाल पर्वतारोहण सङ्घ एनएमएका महासचिव कुलबहादुर गुरुङले असहज परिस्थितिका बावजुद पनि सगरमाथासहितमा हिमाल आरोहणका लागि विदेशीको बाक्लो सङ्ख्यामा उपस्थितिले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुगेको बताए।

उनले भने ,“कोभिड महामारी सन्दर्भमा सगरमाथामा आरोही आएको सङ्ख्या हेर्दा अघिल्लो सामान्य अवस्थाकै हाराहारीमा हुनु तथा एनएमएले व्यवस्थापन गरिरहेको चुलि ९पिक० आरोहणमा पनि तुलनात्मक रुपमा कम भए पनि यसले सकारात्मक सन्देश दिएको छ ।” एनएमएको तथ्याङ्क अनुसार गत साउन १ देखि फागुन २९ गतेसम्म ६२ वटा पिक जारी भएकामा १६९ पुरुष र २३ महिला गरी १९२ ले पिक आरोहणको अनुमति पाएका छन् । अप्रिल महिनामा धेरै सङ्ख्यामा पिक बिक्री भएकाले यो सङ्ख्या बढ्ने जनाइएको छ ।

 पिक पमिर्टबाट हालसम्म रु १६ लाख ८६ हजार रोयल्टी सङ्कलन भएको छ । यतिखेर विभिन्न मुलुकबाट नेपालको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोहीले अनुमति लिइरहेका छन् । 

कोभिड महामारी जोखिमकाबीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ । 

प्रतिक्रिया दिनुहोस