पशुपति क्षेत्रमा बज्रेश्वरी जात्रा शुरु

रासस

आइतबार, २९ चैत्र २०७७, १५ : ००
पशुपति क्षेत्रमा बज्रेश्वरी जात्रा शुरु

काठमाडौं । देशमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने बज्रेश्वरी जात्रा आज बिहानदेखि शुरु भएको छ । इटापाखाबाट शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले  जानकारी दिए । 

चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छवीकालदेखिको परम्परा रहेको जनाइएको छ । यसअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्वार पूजा सम्पन्न गरिएको थियो । पूजा सम्पन्न गरी आज बिहान ७ बजेदेखि बज्रेश्वरी जात्रा शुरु भएको हो । बज्रेश्वरी अर्थात् पिङ्गलास्थानको जात्रा आज बेलुकीसम्म मनाइन्छ । 

बेलुकी अमालकोटबाट मूलभट्ट कहाँ गएर आज्ञा लिएपछि फर्केर पगरी बाँधी बज्रेश्वरी जात्रा समापन गरिन्छ । बज्रेश्वरी जात्रा समापन गरी आज रातिदेखि नै वत्सलेश्वरी जात्रा शुरु हुन्छ । वत्सलेश्वरी जात्रा भने आजदेखि तीन दिनसम्म मनाइन्छ । चैत्र शुक्ल द्वितीयाका दिन सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिन्छ । 
     
देशमा शान्ति गराउन पूजा एवं जात्रा भएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ । देशोद्वार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्षरुपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्षरुपमा सहभागी हुने गरेको उनले सुनाए । 
 
वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रुपमा पूजा आराधना गरिन्छ । भगवान् शिवको पत्नीका रुपमा पूजिने वत्सलेश्वरीलाई निकालेको भन्ने किम्बदन्तीका आधारमा सोमबार नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिन्छ । नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन भोलि रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रही आएको छ ।

प्रतिक्रिया दिनुहोस