आज नेपाल पत्रकार महासंघको निर्वाचन , दुई प्यानलबीच मुख्य प्रतिस्पर्धा हुँदै

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०७७, ०७ : ०४
आज नेपाल पत्रकार महासंघको निर्वाचन , दुई प्यानलबीच मुख्य प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी तीन वर्षे कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ ।महासंघको झण्डै ७ दशकको इतिहासमा पहिलोपल्ट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन हुन लागेको हो ।

महासंघको केन्द्रीय नेतृत्वमात्र होइन, प्रदेश, प्रतिष्ठान, एसोसियट र जिल्ला शाखाहरुको नेतृत्वका लागि पनि आजै मतदान हुनेछ । महासंघले भ्रममा नपरी आफूले मतदान गर्न पाइनेहरुलाई मात्र मतदान गर्न आग्रह गरेको छ । मतदान आन विहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । देशभरबाट १३ हजारभन्दा बढी पत्रकारले मतदान गर्न पाउनेछन् ।

महासंघका पदाधिकारी र सदस्यलाई देशभरका सदस्यले मतदान गर्न पाउँछन् । त्यसबाहेक प्रदेशका लागि सम्बन्धित प्रदेशमा सदस्यता भएकाले मात्र पाउनेछन् । उपत्यका, एसोसियट र प्रतिष्ठानमा सदस्यता हुनेले केन्द्रका बाहेक आआफ्नो प्रदेशका उम्मेदवारलाई मतदान गर्न पाउनेछन् । त्यस्तै उनीहरुले आआफ्नो प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्यका उम्मेदवारलाई पनि मतदान गर्न पाउँछन् ।

जिल्ला, प्रदेशका विभिन्न स्थानमा मतदान स्थल तोकिएको छ । उपत्यकाको हकमा प्रतिष्ठान, उपत्यका र एसोसियटका लागि छुट्टाछुट्टै मतदानस्थल छ । महासंघको चुनाव सहज र मर्यादिन रुपमा सम्पन्न गराउन महासंघले केन्द्रीय पदाधिकारीलाई सबै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

यसपल्टको निर्वाचनमा मुख्य गरी दुई प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि अध्यक्ष पदमा तीनजना उम्मेदवार छन् ।नेकपा एमाले सम्बद्ध प्रेस चौतारीले निर्मला शर्मा अध्यक्ष र बालकृष्ण बस्नेत महासचिवको उम्मेदवारका रुपमा प्यानल बनाएर चुनावी मैदानमा होमिएको छ । यो समूहमा माधव नेपाल वरिष्ठ उपाध्यक्षको उम्मेदवार छन् ।

नेपाली कांग्रेस सम्बद्ध नेपाल प्रेस युनियन र नेकपा माओबादी केन्द्र सम्बद्ध प्रेस सेन्टरको संयुक्त गठबन्धमा विपुल पोखरेल अध्यक्ष र रोशन पुरी महासचिवको उम्मेदवार छन् । महासंघका वर्तमान महासचिव रमेश विष्ट यो समूहमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार छन् । यो समूहमा एशोसियट सचिवमा पवन आचार्य छन् ।

अध्यक्षमा गजेन्द्र बुढाथोकी पनि चुनावी मैदानमा छन् । राजनीतिक आस्थाभन्दा बाहिर स्वतन्त्र हैसियदमा उम्मेदवारी दिएका उनीप्रति पनि स्वतन्त्र पत्रकारहरुको साहनुभूति हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस