काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानी, कहाँकहाँ जाँदैछ ?

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०७७, ०९ : १४
काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानी, कहाँकहाँ जाँदैछ ?

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँका घरघरमा आजदेखि मेलम्चीको पानी वितरण गरिने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडमार्फत् पुरानै पाइप संरचनाबाट परीक्षणका रूपमा घरघरमा पानी छाड्न लागिएको छ।

लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईका अनुसार काठमाडौँमा आजदेखि मेलम्चीको पानी वितरण हुन्छ । मेलम्चीको पानी काठमाडौं र ललितपुरका घरघरमा केयुकेयलका पुरानै नेटवर्कबाट पानी वितरण हुनेछ । 

अनामनगर, मिनभवन, महाकालचौर, महाराजगञ्ज, बाँसवारी, बालाजुलगायत ठाउँका पुरानै ट्यांकीमा पानी भरेर घरघरमा पठाउन लागिएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउने क्षमता भए पनि अहिले कम ल्याइएको छ।

क्षमताअनुसार सुरूङबाट पानी छाडिएको छैन। त्यसैले अहिले दैनिक चार करोड लिटर पानी वितरणको तयारी गरिएको हो। काठमाडौंमा दैनिक ४३ करोड लिटर पानीको माग छ। २०५६ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भएर काम हुँदै आएको थियो। 

यी क्षेत्रमा जाँदैछ मेलम्चीको पानी

आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ ।

बीडीएसले एकैचोटि १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले विस्तारै पानीको परिमाण बढाउँदै लैजाने निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले बताए । ‘‘चैत १५ गते चार करोड लिटर पानी छाडेको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरेका छौँ । सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाड्नेछौँ,” उनले भने, ‘‘चैत २१ गते पानी पोखरी र बाँसबारीस्थित ट्यांकीमा दैनिक साढे आठ करोड लिटर पानी छाडेर उक्त प्रणालीबाट वितरण गर्ने छौँ ।”

प्रतिक्रिया दिनुहोस