त्रिदेशीय कप फुटबलमा नेपाल  र बंगलादेशबीच आज  लिगको अन्तिम खेल  हुँदै

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, ११ : ०१
त्रिदेशीय कप फुटबलमा नेपाल  र बंगलादेशबीच आज  लिगको अन्तिम खेल  हुँदै

काठमाडौं । त्रिदेशीय कप फुटबल अन्तर्गत नेपाल र बंगलादेशबीच लिगको अन्तिम खेल आज हुँदैछ । नेपाल बंगलादेश र किर्गिस्तान यू-२३ टिम सम्मिलित प्रतियोगितामा बंगलादेश यसअघि नै फाइनल पुगिसकेको छ।

नेपालले फाइनल पुग्न बंगलादेशसंग बराबरी खेले पर्याप्त हुनेछ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो । नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेपछि बंगलादेश एक खेलअघि फाइनल पुगेको हो।

नेपाल र बंगलादेशबीचको खेलपछि नै फाइनल समीकरण तय हुनेछ । यस्तोमा घरेलु टोलीले सोमबार हुने फाइनलमा स्थान बनाउन कम्तीमा हार टार्नु पर्नेछ ।

किर्गिस्तानको ओलम्पिक टिम भएकोले यसअघि भएको दुवै खेलले अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन । त्यसैले नेपाल र बंगलादेशबीच हुने खेलले अन्तर्राष्ट्रिय मान्यतासमेत पाउनेछ।

सन् २०१५ मा विश्वकप छनोट अन्तर्गत भारतसँग खेलेयता बंगलादेशविरुद्धको खेल नै दशरथ रंगशालमा सिनियर टोलीको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल हुनेछ ।

किर्गिस्तानसँग नेपालको सिनियर टोलीले खेलेपनि किर्गिस्तानको राष्ट्रिय टोली नभएकोले त्यसले अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन ।

पहिलो खेलमा किर्स्तानसँग बराबरीमा रोकिएपछि नेपालमा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरुद्ध अंक जोड्दै फाइनल पुग्ने लक्ष्य रहेको बताएका थिए ।

किर्गिस्तानसँग नेपालको अट्याकिङ थर्ड कमजोर भएकोले स्कोर निस्कन नसकेको स्वीकार गरेका महर्जनले बंगलादेशविरुद्ध त्यसलाई सुधार गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस