यौन दुर्व्यवहार आरोपमा चिकित्सक पक्राउ

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, ०७ : ५५
यौन दुर्व्यवहार आरोपमा चिकित्सक पक्राउ

सप्तरी । शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ। उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा. राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए।  

उनका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुर्व्यवहार गरेको आरोपमा डा. जैसवाललाई पक्राउ गरिएको हो। अस्पतालले समेत तत्कालै डा. जैसवाललाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ।  

डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एकपटक भेट्नु भनेर डा. जैसवालले भनेअनुसार पुगेकी महिलाले बालिका जाँच्ने बहानामा आफ्नो पेट सुम्सुम्याएको, संवेदनशील अङ्ग छुनुका साथै चलाएको र अन्तमा ब्लाउजको टाँक नै खोलेर अश्लिल क्रियाकलाप गर्न लागेपछि प्रतिकार गरेको बताइन्।  

डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुनः केही औषधि लेखेर डा.जैसवालले पीडितका पतिलाई औषधि पसल पठाएर केबिनभित्र अश्लिल क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले बताइन्। डा. जैसवालले भने आफूले शिशु बालिकालाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताए। 

प्रतिक्रिया दिनुहोस