बेइजिङमा विदेशीका लागि कोभिड–१९ विरूद्धको खोप अभियान सुरू

एजेन्सी

शुक्रबार, १३ चैत्र २०७७, १९ : ५२
बेइजिङमा विदेशीका लागि कोभिड–१९ विरूद्धको खोप अभियान सुरू

काठमाडौं । बेइजिङमा रहेका विदेशी नागरिकहरूका लागि कोभिड–१९ विरूद्धको खोप सुरू गरिएको महानगरीय विदेश मामिला कार्यालयले शुक्रबार जनाएको छ । कार्यालयले बेइजिङमा रहेका १८ वर्ष माथिका विदेशी नागरिकका लागि खोप उपलब्ध गराइने जनाएको छ ।

कार्यालयले शुक्रबार जारी विज्ञप्तिमा भनेको छ, “महानगरमा रहेका विदेशीहरूका लागि कोभिड–१९ विरूद्धको खोप सेवा सुरू गरिने तर खोप लगाउनका लागि सेवाग्राही स्वयम्ले चासो देखाउनु पर्ने र खोपबाट कुनै जोखिम आएमा खोप लिने व्यक्ति स्वयम् जिम्मेवार रहने शर्तमा खोप दिइनेछ ।”

“विदेशीहरूका लागि चीनमा निर्माण भएको सार्स–कोभ–२ नामक खोप प्रयोग गरिने र खोपले पूर्णतया काम गर्नका लागि दुई मात्रा खोप लगाउनै पर्ने छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ । 

“खोप लगाउन इच्छुक विदेशीले आफ्नो रोजगारदाता, विद्यालय वा आवासीय सामुदायिक कार्यालयहरू वा संघसंस्थामार्फत खोप सेवा लिने तिथि, समय र स्थानको अनुमति लिनुपर्नेछ ।” सेवाका लागि अनुमति लिएपछि कुनै पनि व्यक्तिले पायक पर्नेगरी स्थानीय निकायले तोकेको स्थानमा गई सेवा लिनसक्ने अधिकारीहरूले बताएका छन् ।

विदेशी नागरिकले विदेशी भएको पुष्टि गर्ने प्रमाणका लागि आफूसँग उपलब्ध राहदानी र आवासीय अनुमति कार्डलाई खोप लगाउँदा साथमा लिएर जानुपर्ने पनि बताइएको छ ।

बेइजिङको सामाजिक मेडिकल विमा कार्यक्रममा जोडिएका विदेशी नागरिकलाई विमापत्र अनुसार खोप निःशुल्क लगाइने छ तर विमामा नजोडिएका विदेशी नागरिकले भने प्रतिव्यक्ति प्रतिमात्रा ९३.५ चिनियाँ युआन (करिब १४.४ अमेरिकी डलर) सेवाशुल्क तिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस