प्रधानमन्त्री ओलीले स्पष्टिकरण सोधेका नेता नेपाल सहित चारै नेताले खुल्ला जवाफ फर्काउने

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, ०७ : ५७
प्रधानमन्त्री ओलीले स्पष्टिकरण सोधेका नेता नेपाल सहित चारै नेताले खुल्ला जवाफ फर्काउने

काठमाडौं । प्रधानमन्त्री केपी ओली समुहको बैठकले एमालेकै वरिष्ठ नेता माधव नेपाल सहितका ४ नेतालाई सोधेको स्पष्टिकरणको जवाफ आज सामुहिक रुपमा चारैजनाले खुला जवाफ फर्काउने तयारी गरेका छन् । चैत ७ गते ओलीले बोलाएको एमाले केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पार्टी हित विपरितका गतिविधिमा लागेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

त्यसलगत्तै नेपाललाई १० बुँदे, पाण्डेलाई ६ बँुदे, रावललाई ५ बँुदे र भुषाललाई ४ बँुदे स्पष्टिकरण एमालेको ओली पक्षले सोधेको थियो । महासचिव इश्वर पोखरेलले हस्ताक्षर गरेर सोधिएको स्पष्टिकरणमा तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन गरिएको छ । जवाफ नदिए वा चित्तबुझ्दो जवाफ नआए पार्टीले कारवाहीको प्रक्रिया अगाडी बढाउने चेतावनी पनि पत्रमार्फत दिईएको थियो ।

ओली पक्षले भनेको तीन दिन आज पुग्दैछ । सोमबार मात्रै नेपाल सहितका नेतालाई एमाले केन्द्रीय कार्यालयका तर्फबाट खटिएका कर्मचारीले स्पष्टिकरण पत्र बुझाएका थिए । ओलीले साविक नेकपा हुदै गर्दाका कतिपय विषयमा समेत रिसिइवी साँध्ने ढंगले नेपाल लगायतका नेतालाई स्पष्टिकरण सोधिएको छ । प्रचण्डलाई दैनिक किन भेटघाट गरिरहेको, ओली विरुद्ध गत कात्तिक २८ गते प्रचण्डले साविक नेकपाको सचिवालयमा प्रस्तुत गरेको १९ बुँदे प्रस्तावको मतियार किन बनेको जस्ता विषयमा पनि प्रश्न उठाउदैं स्पष्टिकरण सोधिएको छ ।

नेपाल पक्षले सर्वाेच्च अदालतले फागुन २३ मा नेकपाको एकता बदर गरेर एमाले र माओवादी केन्द्र ब्यूँताईदिने निर्णय गरेपछि एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर त्यही शिराबाट नयाँ ढंगले एकताबद्ध गराएर लैजानुपर्ने बताउदैं आएका थिए । तर ओली पक्षले गत फागुन २८ मा नेपाल पक्षका केन्द्रीय समिति सदस्यहरु कसैलाई पनि बैठकमा निम्तो समेत नदिई नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोस्ने, पार्टी महाधिवेशन आयोजक समिति बनाएर लैजाने र विधानमा ब्यवस्था नै नभएको अर्थात अब मनोनित गर्ने संख्या नै नरहेको अवस्थामा माओवादी छोडेर एमालेमा लागेका रामबहादुर थापा लगायतका नेतालाई मनोनित गरेको निर्णय सच्याउनु पर्ने माग गर्दै आएका थिए ।

तर ओली पक्षले त्यसमा अटेर गरेर जर्बजस्ती अगाडी बढेपछि चैत ४ र ५ मा नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला गरी ओली प्रवृतिसँग जुँध्ने र स्थानिय तहसम्मै समानान्तर संगठनात्मक संरचना निर्माण गरेर जाने निर्णय लिएका थिए । यसलाई पनि ओली पक्षले पार्टी अनुशासन विपरित काम गरेको भन्दै नेताहरुलाई स्पष्टिकरणमा जवाफ माग गरेको छ । ओली पक्षले स्पष्टिकरण साधेपछि बसेको नेपाल खेमाको स्थायी समिति सदस्यहरुको अनौपचारिक बैठकले ओलीलाई नै उल्टै प्रष्टिकरण सोधेर आफुहरुलाई सोधिएको जवाफ फर्काउने तयारी गरेका छन् ।

नेपाल पक्षका स्थायी समिति सदस्य वेदुराम भुषालले सफलखबरसँग भने, ओली पक्षले नेताहरुलाई सोधेर पठाएको पत्र नक्कली हो । उल्टै उहाँहरुलाई नै प्रश्न सोध्ने गरी जवाफ खुल्ला रुपमा नै जनताले थाहा पाउने गरी फर्काउनुपर्छ भन्ने भएको छ । त्यसको तयारीमा हामी लागेका छौं ।

नेपाल पक्षले आज साँझ सम्ममा ओलीले सोधेको स्पष्टिकरणको जवाफ फर्काउने तयारी भईरहेको पनि भुषालले बताए । आम नेता कार्यकर्ता र जनतालाई नै पनि प्रष्ट होस भन्ने ढंगले जवाफ दिने तयारी नेपाल पक्षले गरेपछि एमालेभित्रको संर्घषमा कोही झुक्ने देखिएका छैनन् । यसले ओली र नेपाल बीचको सम्बन्धमा खट्पट थप निम्ताउने र जटिल बनाउने देखिदैंछ ।

प्रतिक्रिया दिनुहोस