बिनाधितो तीन लाख रुपैंया उद्यमशील कर्जा दिन सहमति

रासस

विहीबार, ०५ चैत्र २०७७, ०९ : ४६
बिनाधितो तीन लाख रुपैंया उद्यमशील कर्जा दिन सहमति

भक्तपुर । युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको छ ।

चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३०० युवालाई बिनाधितो र बिनाब्याज रु तीन लाख कर्जा दिनेबारे बुधबार सहमति भएको हो ।

राष्ट्रिय युवा परिषद्ले ऋण लिने ३७० युवालाई १० समूहमा विभाजन गरी तालिम दिन शुरु गरेको छ । तालिमपश्चात् नेपाल बैंकले ती युवालाई नगरपालिकाको सिफारिसमा व्यावसायिक प्रस्तावका आधारमा नगरपालिकाको जमानीमा तीन लाख रुपैयाँका दरले बिनाब्याज कर्जा दिनेछ । कर्जाको ब्याज भने नगरपालिकाले तिर्ने नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिए । 

नेपाल बैंकका नायब कार्यकारी अधिकृत प्रकाश अधिकारीले नगरपालिकाको सिफारिस एवं उद्यमशीलतासम्बन्धी आवश्यक कागजातसहित प्रक्रिया पुर्याएर बैंकले ऋण उपलब्ध गराउने बताए ।

युवालाई उद्यमशीलताका लागि बिनाब्याज रु तीन लाख ऋण दिएर कार्यक्रम सञ्चालन गर्ने चाँगुनारायण देशकै पहिलो नगरपालिका हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस