गाउँगाउँमा भिडियो एक्स–रे सेवाः गर्भवतीमा खुशीयाली

रासस

मंगलबार, ०३ चैत्र २०७७, १७ : ३३
गाउँगाउँमा भिडियो एक्स–रे सेवाः गर्भवतीमा खुशीयाली

बागलुङ । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले गर्भवतीलाई लक्षित गरी गाउँगाउँमा भिडियो एक्स–रे सेवा दिन थालेको छ । गर्भावस्थामा अनिवार्य भिडियो एक्स–रे आवश्यक भए पनि गाउँमा भिडियो एक्स–रे सेवा नहुँदा सदरमुकाम धाउन पर्ने अवस्थालाई हेरेर जैमिनी नगरपालिकाले गाउँगाउँमा भिडियो एक्स–रे सेवा दिन थालेको हो ।

स्वास्थ्यकर्मीले तीनपटक अनिवार्य भिडियो एक्स–रे गर्नुपर्छ भने पनि सचेतनाको अभाव, भौगोलिक विकटता र स्वास्थ्य संस्थामा सहज पहुँच अभावका कारण गर्भवती अवस्थामा स्वास्थ्य मापदण्डअनुसार भिडियो एक्स–रे गर्ने र गर्भजाँच गराउनेको सङ्ख्या न्यून रहेको भन्दै जैमिनी नगरपालिकाले गाउँमै पुगेर भिडियो एक्स–रे सेवा दिन थालेको छ । 

समयसमयमा भिडियो एक्स–रे नगर्दा गर्भवती, गर्भको बच्चा र प्रसूतिको समयमा आउन सक्ने जटिलतालाई न्यून गर्नका लागि जैमिनी नगरपालिकाले पछिल्लो समय गाउँगाउँमै गएर भिडियो एक्स–रे  शिविर सञ्चालन गर्न थालेको हो । जैमिनी नगरपालिका स्वास्थ्य शाखामा कार्यरत स्टाफ नर्स सुनिता चालिसेले जैमिनीका अधिकांश गर्भवतीले एकपटक मात्र भिडियो एक्स–रे गरेको पाइएपछि जोखिम न्यूनीकराण्का लागि गाउँगाउँमै पुगेर भिडियो शिविर सञ्चालन गर्न थालेको बताए । 

नगरपालिकाले सङ्घीय सरकारको रु एक लाख र नगरको रु दुई लाख गरी यस आर्थिक वर्षको असोज महिनादेखि नगरपालिकाका एक शहरी स्वास्थ्य क्लिनिक र आठ स्वास्थ्य चौकीबाट भिडियो एक्स–रे शिविर सञ्चालन गर्न शुरु गरेको हो ।  पैँयुथन्थाप स्वास्थ्य चौकी, राङखानी स्वास्थ्य चौकी, छिस्ती स्वास्थ्य चौकी र नेपाने शहरी स्वास्थ्य क्लिनिकमा पहिलोपटक असोज र दोस्रोपटक पुस महिनामा भिडियो एक्स–रे शिविर सञ्चालन गरिएको चालिसेले बताए । त्यसैगरी नगरपालिकाले जैदी स्वास्थ्य चौकी, अर्जेवा स्वास्थ्य चौकी, दमक स्वास्थ्य चौकी, सर्कुवा स्वास्थ्य चौकी र विनामारे स्वास्थ्य चौकीमा कार्तिक र माघ महिनामा दुईपटक शिविर सञ्चालन गरिसकेको छ । 

शिविरबाट हालसम्म २३३ जना महिलाले भिडियो एक्स–रे सेवा लिएको चालिसेको भनाइ छ । “भिडियो एक्स–रेको आवश्यक उपकरणसहित नगरपालिकाबाट एकजना तालीम प्राप्त नर्स स्वास्थ्य चौकीसम्म पुगेर शिविर सञ्चालन गर्दै आएका छौँ”, चालिसेले भनिन्, “अन्य संयोजन स्वास्थ्य चौकीले गर्दै आएको छ, जसकारण अस्थायीरुपमा भए पनि स्वास्थ्य चौकीबाटै भिडियो एक्स–रे सेवा पाउँदा महिलालाई सहज भएको छ ।” चालिसेका अनुसार उक्त शिविर हरेका तीन–तीन महिनामा गाउँमै पुगेर गरिनेछ । 

गर्भवतीले तीनपटक अनिवार्य, स्वास्थ्यकर्मीको परामर्श र गर्भवतीको अवस्थाअनुसार जति पटक पनि भिडियो एक्स–रे गर्न सकिने धौलागिरि अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक केशव आचार्यले बताए । उनका अनुसार गर्भवती भएको जानकारी हुनासाथ पहिलोपटक, गर्भवती भएको चारदेखि पाँच महिनामा दोस्रोपटक र सातदेखि आठ महिनामा तेस्रोपटक अनिवार्य भिडियो एक्स–रे गर्नुपर्छ । गर्भमा रहेको बच्चाको अवस्था, गर्भवतीको अवस्था र प्रसूति हुने समयमा हुनसक्ने जटिलतालाई दृष्टिगत गर्दै स्वास्थ्यकर्मीको परामर्शअनुसार अन्य समयमा पनि भिडियो एक्स–रे गर्न  अवाश्यक रहेको र यसो नगर्दा आमा र शिशु दुवैलाई समस्या हुने उनको भनाइ छ ।  

तीन सन्तान जन्माउँदासम्म सदरमुकाम पुगेर एक÷दुईपटक मात्रै भिडियो एक्स–रे गर्नुभएकी जैमिनी नगरपालिका–८ छिस्तीकी २९ वर्षीया याममाया थापाले चौथो सन्तान जन्माउँदा भने गाउँमै भिडियो एक्स–रे गर्न पाएको बताइन् ।  “पहिलोपटक भिडियो एक्स–रे गर्नुपर्छ भन्ने थाहै थिएन, दोस्रो र तेस्रोपटक जानकारी भए पनि नजीक स्वास्थ्य संस्था नहुँदा धेरै गर्न सकिएन तर अहिले गाउँमै भिडियो एक्स–रे गर्न पाएँ”, उनले भनिन्।

प्रतिक्रिया दिनुहोस