योगेस भट्टराईले ओलीलाई भने– तपाईंले गर्ने प्रत्येक कारबाही भोग्न लामबद्ध छौं

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०७७, १५ : १३
योगेस भट्टराईले ओलीलाई भने– तपाईंले गर्ने प्रत्येक कारबाही भोग्न लामबद्ध छौं

काठमाडौँ । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने प्रत्येक कारबाही भोग्न तयार भएको बताएका छन् ।

बुधबार र बिहीबार हुने कार्यकर्ता भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले प्रधानमन्त्री ओलीले पार्टी फूटतर्फ लगेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीलाई धम्की र बारूदको गन्ध नफैलाउन चेतावनी दिए। मंगलबार नै बालुवाटारमा भएको चियापान कार्यक्रममा ओलीले पार्टीको विधानविपरीत भेला, बैठक गरे कारबाही गर्ने नेपाल पक्षलाई चेतावनी दिएका थिए।

सोही अभिव्यक्तिलाई लिएर नेता भट्टराईले  बुद्धको देशमा शान्तिको भाषा प्रयोग गर्न ओलीलाई आग्रह गरे। ‘यो बुद्धको देश हो। बुद्धको देशमा शान्तिको भाषा हुन्छ। प्रधानमन्त्रीजी बुद्धको अनुयायी पनि हुनुहुन्छ,’ उनले भने, ‘आज तपाईंले बालुवाटारमा बोल्नुभएको भाषा शक्तिको भाषा छ। म विनम्रताका साथ भन्न चाहन्छु कि त्यो भाषा बदल्नुहोस् र शान्तिको भाषा बोल्नुहोस् ।’

भट्टराईले भने, ‘इतिहासले गर्ने निर्मम समीक्षामा तपाईंका पक्षमा एक थोपा आँशु खसाल्ने मान्छे नहुने अवस्था नआओस् ।’ ओलीले नेता कार्यकर्ताहरुलाई नेपाल पक्षको भेलामा नजान भनको सन्दर्भमा नेता भट्टराईले अब मुलुक, पार्टी र राजनीति कारबाहीबाट नचल्ने बताए। 

प्रतिक्रिया दिनुहोस