पेट्रोलियम पदार्थ उत्खननका लागि चिनियाँ टोली दैलेख आउने

रासस

मंगलबार, ०३ चैत्र २०७७, १३ : १६
पेट्रोलियम पदार्थ उत्खननका लागि चिनियाँ टोली  दैलेख  आउने

दैलेख । पेट्रोलियम पदार्थ उत्खनन अन्तर्गत तेस्रो चरणमा गरिने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली यही महिना दैलेख आउने भएको छ । कोरोना महामारीका कारण केही समयपछि परेको पेट्रोलियम पदार्थ उत्खनन तथा अन्वेषणको कामले तीव्रता पाउने भएको छ । 

विसं २०७६ असोजदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तेस्रो चरणमा गरिने ड्रिलिङको पूर्वतयारीका लागि चिनियाँ टोली नेपाल आउन लागेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले जानकारी दिए । चीनको टोलीले चैत्र १९ सम्म आउने भनेको छ । केही समय ढिलो चाँडो भए पनि यही महिनाभित्र चीनको टोली आइपुग्ने त्रिपाठीले बताए। 

अध्ययनका लागि आउने चीनको टोलीले सम्बन्धित स्थलमा गएर ड्रिलिङका लागि भौगोलिक अवस्था, सडकको पहुँचलगायतका कुरामा अध्ययन गरेपछि विज्ञ टोली आएर  चार किलोमिटर जमिन मुनी ड्रिलिङको काम गर्ने खानी तथा भूगर्भ विभागले जनाएको छ । 

टोलीले दुईदेखि तीन महिनासम्म ड्रिलिङको काम सकाएर दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका विषयमा गरिएको सम्झौताअनुसार यहाँको अवस्थाका बारेमा नेपाल सरकारलाई प्रतिवेदन बुझाउने छ । 

प्रतिक्रिया दिनुहोस