सीमा बन्दले ढुवानीमा बढी रकम

रासस

मंगलबार, ०३ चैत्र २०७७, १२ : ४०
सीमा बन्दले ढुवानीमा बढी रकम

फुङ्लिङ । ताप्लेजुङको ओलाङ्चुङ्गोला सीमा नाका १६ महिनादेखि बन्द छ । कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिमका कारण टिप्ताला सीमा बन्द भएको हो । गत वर्षको मङ्सिरदेखि नाका बन्द छ । कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमासमेत फैलिन सक्ने भन्दै चीनले नाका आवातजावत बन्द गरेको थियो । 

गत माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङ्गोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताए । सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएसँगै नाका बन्द भएको थियो  । 

“आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलिनसक्ने भन्दै यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन भनेर रिउ प्रशासनबाट अनुरोध भएसँगै नाका बन्द भएको थियो । नाकामा १६ महिनादेखि आवतजावत बन्द छ”, वडाध्यक्ष शेर्पाले भने । 

वर्षाको समयमा याङ्मा, थुदाम, ओलाङ्चुङ्गोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँ बजारकै भर पर्छन् । वर्षामा बाढी पहिरोलगायतका कारण  स्थानीय सदरमुकाम फुङ्लिङ्सम्म आइपुग्न सक्दैनन् । गाउँपालिका—७ ओलाङ्चुङ्गोला, याङ्मा र घुन्सा क्षेत्रका ८० प्रतिशत मानिस चीनको बजारमा निर्भर रहेको वडाध्यक्ष शेर्पा भोटेले बताए । 
 

प्रतिक्रिया दिनुहोस