हेटौँडामा खानेपानी आपूर्ति सहज

रासस

सोमबार, ०२ चैत्र २०७७, १५ : ३६
हेटौँडामा खानेपानी आपूर्ति सहज

हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा पछिल्लो पटक माग अनुसार  खानेपानी आपूर्ति  भएपछि सर्वसाधारणलाई सजिलो भएको  छ  ।हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अनुसार पछिल्लो पटक मकवानपुरको भीमफेदी गाउँपालिका–१ सामरी खोला  नजिकै समवेल  इनार जस्तै पानी सङ्कलन गर्ने प्रविधि निमार्ण भएपछि खानेपानी आपूर्ति थप सहज भएको हो । 

बोर्डले सामरी खोलामा कूल रु एक करोड १५ लाखको लगानीमा समवेल निर्माण गरेको हो  । उक्त समवेलबाट दैनिक २७ लाख लिटर पानी वितरण शुरु गरिएको बोर्डका सूचना अधिकारी सञ्जयकुमार न्यौपानेले जानकारी दिए।
 
नेपाली सेनाको मध्यपृतना हेडक्वार्टर सुपारेटारको जग्गामा सो समवेल बनाइएको छ । पहिले हेटौँडाको मुख्य बजार क्षेत्रमा बिहान र बेलुका मात्र खानेपानी वितरण गरिएको भए पनि अहिले भने दैनिक तीन पटक पानी वितरण गर्न शुरु गरिएको खानेपानी बोर्डका सूचना अधिकारी न्यौपानले जानकारी दिए  ।

समवेलबाट हेटौँडा उपमहानगरपालिका– २, ४, ५ र १० नम्बर वडाका करीब ८०० घरधुरीलाई दैनिक तीन पटक पानी वितरण हुँदै आएको बोर्डले जनाएको  छ  । 

प्रतिक्रिया दिनुहोस