जङ्गली जनावरले सखाप पार्दै हिउँदे  बाली

रासस

सोमबार, ०२ चैत्र २०७७, १३ : २८
जङ्गली जनावरले सखाप पार्दै हिउँदे  बाली

महोत्तरी । महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहमा किसानले लगाएका लाखौँ रुपैयाँ बराबरको हिउँदे बाली जङ्गली जनावरले सखाप पारेको छ  । जिल्लाका मटिहानी, भङ्गहा, जलेश्वर, मनरासिस्वा, बलवा, लोहारपट्टि र गौशाला नगरपालिकासहित  पिपरा, एकडारा, सम्सी, सोनमा गाउँपालिकामा केही दिनदेखि हुलका हुल जङ्गली जनावर आएर खेतबारीमा लगाइएका हिउँदे बाली सखाप पारेको स्थानीय किसानले जानकारी दिएका छन् ।

ती स्थानीय तहका विभिन्न क्षेत्रका सयौँ बिघा क्षेत्रफलमा लगाइएका तरकारी, दलहन, तेलहन, गहुँ बाली र फलफूल जङ्गलबाट आएका नीलगाई, घोरगद्दर र जङ्गली सुँगुरहरुले सखाप बनाएको मटिहानीका किसान रामबाबु नायकले बताए । दिनभरि वन क्षेत्रमा लुकेर बस्ने र राति आएर ती जनावरले  बालीनाली खाइदिने र खेतबारीसमेत खनेर तहसनहस गर्ने गरेको सम्सीका किसान विपीनविहारी यादवले जानकारी दिए  । 

ती जनावरलाई धपाउन स्थानीयवासीले समूह बनाएर राति जाँदा जनावर मानिसको आभास पाउनेबित्तिकै वनतिर भागेर लुक्ने गरेको छ । पछि पुनः किसान फर्किसकेपछि जनावर आएर खेतबारी चर्ने गरेको मनरासिस्वाका किसान रवीन्द्र भगतले बताए । 

जङ्गली जनावरको आतङ्कले अहिले जिल्लाका किसानले हिउँदे बालीबाट कमाइ हुने लाखौँ रुपैयाँ गुमाएको गुनासो गरेका छन् । जनावरले एक्लै पाएका खण्डमा आक्रमणसमेत गर्ने गरेकाले एकाबिहानै बालबालिकालाई पनि घरबाहिर निकाल्न नसक्ने भएको एकडाराका किसान नागेन्द्र मण्डलले जानकारी दिए ।

 जिल्लाका विभिन्न वन, जङ्गल र खोला किनारामा रहेका ठूलठूला घाँसपातमा ती जनावर समूह बनाएर बस्ने गरेका छन् ।  रातिको मौका छोपी  हिउँदे बाली चरीचरन गरी सखाप पार्ने गरेकाले किसानलाई वर्षभरिलाई पुग्ने खाद्यान्न जोगाउन हम्मेहम्मे परेको छ । 

आफ्नो लाखौँको बालीको क्षति सहन बाध्य भएको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले बताउनुभयो  । क्षतिका बारेमा स्थानीय तहलाई मौखिक र लिखित जानकारी गराइए पनि  सहयोग नपाएको किसानको गुनासो छ । 
 

प्रतिक्रिया दिनुहोस