लुङ्ग्री गाउँपालिकामा घरमा हुने सुुत्केरीलाई शून्यमा झार्ने अभियानको थालनी

रासस

सोमबार, ०२ चैत्र २०७७, १२ : ४९
लुङ्ग्री गाउँपालिकामा घरमा हुने सुुत्केरीलाई शून्यमा झार्ने अभियानको थालनी

रोल्पा । लुङ्ग्री गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्दै घरमा हुने प्रसूतिलाई शून्यमा झार्ने अभियान थालनी  गरेको छ ।  घरमा हुने सुत्केरीले आमा तथा नवजात शिशुुका स्वास्थ्यमा  सङ्क्रमण देखिएको जनाउँदै गाउँपालिकाले यसको अन्त्य गर्न सो अभियान शुरुआत गरेको हो । यसले मातृ तथा बाल मृत्युदरमा कमी ल्याउन समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।  

वडा नं १ पाङलाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिएकोे छ भने चालु आर्थिक वर्ष वडा नं ४ र ५ लाई  पनि  शून्य वडा घोषणाको तयारीमा गाउँपालिका  लागेको  छ  । सातवटा वडा रहेको गाउँपालिकाले आगामी वर्षभित्र सबै वडालाई घरमा  हुने शून्य प्रसूति वडा घोषणा गर्दैछ ।

स्वास्थ्यकर्मी, आमा समूह र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर यसै वर्ष दुईवटा वडा पनि घरमा सुत्केरी शून्य वडा बनाउन लागेको गाउँपालिकाका स्वास्थ्य संयोजक लेपेन्द्र बुढाथोकीले जानकारी दिए ।

संस्थागत सुत्केरीलाई प्रोत्साहन  गर्न  सुत्केरी र गर्भ जाँच गर्न स्वास्थ्य संस्था आउने गर्भवतीलाई नुन, तेल प्रदान गर्ने गरेको लुङ्ग्री–४ का वडाध्यक्ष शिवराम केसीले जानकारी दिए ।  

सेवा क्षेत्रभित्र अघिल्लो वर्षदेखि नै घरमा हुने सुत्केरीको सङ्ख्या शून्य रहेको वडाचौर स्वास्थ्य  केन्द्रका प्रमुख कुमारी विष्टले जानकारी दिए । यस वर्ष सबै प्रक्रिया पूरा गरी घरमा हुने सुत्केरी शून्य वडा घोषणा गर्ने कार्यक्रम तय गरेका छौँ”, उनले भने ।

सुरक्षित प्रसूतिका लागि भन्दै सरकारले जिल्लामा ६३  बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । नागरिकको सुविधालाई दृष्टिगत गर्दै सकेसम्म कम दूरी रहने गरी स्थापना भएका बर्थिङ सेन्टरमा प्रसूति गराउने आमाको सङ्ख्या भने कम छ । 

प्रतिक्रिया दिनुहोस