कर्णालीका पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा

रासस

सोमबार, ०२ चैत्र २०७७, १२ : ११
कर्णालीका पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा

कर्णाली  । कर्णाली प्रदेशका १० जिल्लामध्ये पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् भने पाँच जिल्लामा अझै राष्ट्रिय ग्रिड पुगेको छैन । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम–पश्चिममा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । 

जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पा राष्ट्रिय प्रसारण लाइन कहिले पुग्ने हो कुनै टुङ्गो छैन । राष्ट्रिय लाइन आउने आशा नै मारिसकिएको जुम्लाका नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।

विद्युत् उत्पादनका स्रोत पर्याप्त हुँदाहुँदै पनि अँध्यारोमा बस्नुपर्ने माथिल्लो कर्णालीका बालबालिका, महिला, ज्येष्ठ नागरिकका पीडाले केन्द्र सरकारलाई छुन नसकेको समेत उनको गुनासो छ ।

सुर्खेतपछिको दोस्रो ठूलो शहर जुम्लामा दैनिक १५ घण्टाभन्दा बढी समय नियमित विद्युत्भार कटौती हुने गरेको छ । विद्युत् उत्पादन पनि घटेकाले विद्युतभार कटौती भएको प्राधिकरण जुम्लाका प्रमुख गौरव पाण्डेले जानकारी दिए ।

उनले भने , “ खलङ्गाका उपभोक्तालाई करीब एक मेगावाट विद्युत् आवश्यक रहेको छ । उत्पादन २२० किलोवाट मात्रै छ । बीचमा जेनेरेटरबाटै भए पनि नियमित बत्ती दिइएको छ । ” 

राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि जुम्लामा पोल गाडिसकिएको र राजनीतिक स्तरबाट पहल भएर चाँडै प्रसारण लाइन आउन सक्ने उनको भनाइ छ । विद्युतभार कटौती हुुँदा  विद्यार्थीदेखि होटेल व्यवसायी, इलेक्ट्रोनिक व्यवसायी मारमा परेका छन् । 
        
विद्युत् उत्पादन क्षमताको हिसाबले देश कै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका कूल जनसङ्ख्याको ६७ प्रतिशत नागरिक अहिले पनि अँध्यारोमा नै बस्न बाध्य छन् ।

सो प्रदेशमा साढे १७ लाख जनसङ्ख्या रहेको कर्णालीमा अहिलेसम्म करीब ३३ प्रतिशत अर्थात् पाँच लाख ६१ हजार नागरिक मात्रै विद्युत्को पहुँचमा पुगेका छन् । एघार लाख ३९ हजार अर्थात् ६७ प्रतिशत नागरिक अहिले पनि टुकीकै भरमा रात कटाउन बाध्य रहेको तथ्याङ्कले देखाएको छ । 

प्रतिक्रिया दिनुहोस