प्रधानमन्त्री ओली विरुद्ध गठबन्धन बनाउन काँग्रेस, माओवादी र जसपाको संयुक्त बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०७७, ०९ : ३८
प्रधानमन्त्री ओली विरुद्ध गठबन्धन बनाउन काँग्रेस, माओवादी र जसपाको संयुक्त बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्रीको बागडोर सम्हालेपछि एमाले अध्यक्ष केपी ओलीमा बढेको चरम स्वेछाचारिता र निरंकुशताका विरुद्ध काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका बीचमा संयुक्त मोर्चाबन्दीको प्रयास जारी छ । ओली सरकार विरुद्ध माओवादीले दिईरहेको साथ छोड्ने र अविश्वास प्रस्ताव हालेर ओलीलाई सरकारबाट बर्हिगमन गर्ने साझा निष्कर्षमा यी तीन पार्टी पुगिसकेका छन् ।

यद्यपी, जसपाले सरकार गठन अगाडी आफ्ना केही माग सम्बोधनका लागि गरिरहेको प्रयासका विषयमा आज काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका बीचमा छलफल हुन लागेको हो । छलफल आज हुने बताईएको छ । तर समय तय भईसकेको छैन् । हिजै भेट गर्ने भनेपनि आजका लागि सारिएको छ । तीन दलका बीचमा साझा मोर्चा बनेमा ओली नेतृत्वको सरकार धरापमा पर्नेछ । तीन दल मिलेमा सरकार गठनका लागि आवश्यक बहुमत १३८ सिट पुग्नेछ । अहिले एमालेसँग १२० सदस्य छन् । त्यसभित्र पनि ओलीको पक्षमा एकमत छैन् ।

ओलीलाई सरकारमा राखिरहदा निरंकुशता झन बढने, ओलीको अहं बढेर आफै राज्य ठान्ने प्रवृतिले मुलुकलाई नै घाटा पुग्ने भएकाले ओलीलाई बिदाई गर्ने पक्षमा एमालेभित्रकै माधव नेपाल र झलनाथ खनाल पक्ष छन् । उनीहरुले तत्काल ओलीलाई राजीनामा दिएर वाम गठबन्धनको सरकारको लागि बाटो खोल्नुपर्ने तर्क अगाडी सारिरहेका छन् । तर ओलीले त्यसरी माधव नेपाल र झलनाथ खनालले भने जसरी सरकार छोड्ने देखिदैन् । 

यसले पनि ओलीलाई सरकारबाट बाहिर ल्याउन काँग्रेस, माओवादी केन्द्र र जसपाका बीचमा गठबन्धन जरुरी छ । जसपाका माग पूरा कसरी गर्न सकिन्छ भन्ने एउटा तीन पार्टीको साझा धारणा सहितको मोडालिटी बनाउने, ओलीका विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने र उनको विकल्पमा वाम लोकतान्त्रिक सरकार गठनको प्रक्रिया शुरु गर्ने तयारीमा तीन दल छन् । जसपा भित्रको पनि राजपाको समुह ओलीतिर अलिक बढी झुकाव राख्न खोजेपनि अन्ततः ओली प्रवृति घातक हुन सक्ने करिब निश्र्कषमा पुगेपछि तीन दलका बीचमा मोर्चाबन्दीको प्रयास सकारात्मक दिशामा जान थालेको काँग्रेसका एक नेताले बताए । 

काँग्रेसमा सभापति शेरवहादुर देउवालाई सरकारको नेतृत्व गर्न अहिले सबै पक्षको साथ देखिएको छ । देउवा पनि आईपरे सत्ता लिन तयार रहेको भन्दै सक्रिय हुन थालेका छन् । यसले ओलीको भविश्य आज हुने भनिएको प्रमुख तीन दलको संयुक्त बैठकपछिको अवस्थाले चित्रण गर्न सक्ने आकंलन गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस