छिट्टै नै ठूलो ज्वालामुखी विस्फोट हुने खतरा

मंगलबार, १२ मंसिर २०७४, १६ : ५१
छिट्टै नै ठूलो ज्वालामुखी विस्फोट हुने खतरा

बाली, इन्डोनेसिया, १२ मङसिर ।  इण्डोनेसियाको बाली द्वीपमा अझै पनि ज्वालामुखी विस्फोट हुने खतरा नटरेको इन्डोनसियाली अधिकारीहरुले जनाएका छन् ।

    उनीहरुले बालीमा यसको खतरा अझै पनि कायमै रहेको चेतावनी दिएका कारण बालीस्थित एकमात्र विमानस्थल मङ्गलबार पनि खुलेको छैन । केही समययतादेखि सो क्षेत्रमा ज्वालामुखीको खतराको बारेमा भविश्यवाणी गरिएको थियो । त्यसैले मङ्गलबार दोस्रो दिन पनि सो विमानस्थल बन्द राखेका बताइएको छ ।

    यसअघि इन्डोनेसियाको सरकारले यसको वरिपरि बस्ने करिब एक लाख मानिसलाई सुरक्षित रुपमा अन्यत्र सर्न आग्रह पनि गरिरहेको छ । तर बालीको पनि पहाडी क्षेत्रका मानिसहरु सरिसकेका भने छैनन् । बाली द्वीपको माउण्ट आगुङ्गनामक एक पहाडबाट केही दिनयतादेखि कालो ग्यास र धुवाँ निस्किरहेको देखिएको छ । यसैकारण भूगर्भविद्हरुले ज्वालामुखीको खतराको भविश्यवाणी गरेका छन् ।

    अधिकारीहरुले यसरी धुवाँ र खरानी निस्किनु भनेको छिट्टै नै ठूलो मात्रामा विस्फोट हुन सक्ने अनुमान गरिएको जनाएका छन् । सो क्षेत्रमा बस्ने नागरिकलाई सरकारले मास्क वितरण गरिरहेको छ  ।  सरकारले सर्वसाधारण नागरिकहरुलाई नआत्तिन र शान्त रहन भनेको छ । साथै उनीहरुलाई सकेसम्म आफ्नो सुरक्षित स्थान खोजेर सर्न र सतर्क रहन पनि भनिएको समाचारमा उल्लेख छ ।

    ज्वालामुखीको खरानी निकै ठूलो मात्रामा निस्किएको छ । यसका कारण बालीमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पनि हुन सकिरहेको छैन ।  खरानीका कारण मानवीय समस्या त छँदैछ, यसले जहाजको इञ्जिनमा समेत क्षति पु¥याउने बताइन्छ । त्यसैले आज दोस्रो दिन पनि उक्त विमानस्थलबाट उडान रोकिएको हो ।(रासस/सिन्ह्वा)

 

प्रतिक्रिया दिनुहोस