ओली स्वेच्छाचारी ढंगले अघि बढे : पौडेल

सफल खबर संवाददाता

शनिबार, २९ फागुन २०७७, १६ : २१
ओली स्वेच्छाचारी ढंगले अघि बढे : पौडेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी ढंगले अघि बढेको बताएका छन् । प्रधानमन्त्रीले संसद् पुनःस्र्थापना भएपछि तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा त्यसो नगरी स्वेच्छाचारी ढंगले अघि बढेको उनको टिप्पणी छ । 

नेता पौडेलले रिपोटर्स क्लबमा भएको कार्यक्रममा पौडेलले अब नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा नेपालको संयुक्त सरकार बनाउनुपर्ने बताए । उनले भने, ‘हामीले सम्भव हुन्छ भने कांग्रेस, माओवादी केन्द्र र जसपाको सरकार बनाउनुपर्छ भनेका छौँ ।’ तर, प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन प्रयास गरेको सुनाउँदै उनले कतै प्रधानमन्त्री ओली अल्पमतमा पर्ने भए भने नेपालमा अदृश्य घटना पनि घट्नसक्ने पौडेलको टिप्पणी छ । उनले आफूहरुले सरकारको नेतृत्वको दाबी नगरेको पनि स्पष्ट पारे । 

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर जो प्रधानमन्त्री भए पनि आफूहरुलाई कुनै आपत्ति नहुने बताए । उनले प्रधानमन्त्री ओलीले जसपाको माग र मुद्दा कुनै पनि हालतमा सम्बोधन नगर्ने पनि ठोकुवा गरे । ‘जसपाको माग हामीले पूरा गर्छौं’,उनले भने, ‘ओलीले त कुनै पनि हालतमा गर्दैनन् ।’ प्रधानमन्त्री पद टिकाउनको लागि ओलीले जस्तोसुकै सम्झौता गर्नसक्ने उनले बताए । तर, सम्झौता भएको भोलिपल्टबाट त्यसलाई लत्याउने पनि उनले ठोकुवा गरे । 

विप्लव र सिके राउतलाई वार्ता गरेर सहमति गरेकोमा उनले ओलीको कदमको प्रशंसा गरे । तर, विप्लवका माग सरकारले पूरा नगरेको उनको भनाइ छ । फरक प्रसङ्गमा उनले आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहालले फेरि हतियार उठाउने कुरा नगरेको जिकिर गरे । उनले भने, ‘उहाँले हतियार उठाउने कुरा गर्नुभएको छैन । बरु, काठमाडौं बस्न अलिक कम गरेर जनताको माझ बस्नुपर्छ भन्नुभएको हो ।’
 

प्रतिक्रिया दिनुहोस