माधव नेपालले भने– हामी आत्तिएका छैनौं, आत्तिनु पनि हुन्न

सफल खबर संवाददाता

शनिबार, २९ फागुन २०७७, १३ : १९
माधव नेपालले भने– हामी आत्तिएका छैनौं, आत्तिनु पनि हुन्न

file Photo

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओली प्रवृत्तिविरुद्ध निरन्तर लडिने भन्दै उनको क्रियाकलापले अलिकति पनि विचलित नहुने बताएका छन् । 

शनिबार आफू निकटको केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै उनले अहिलेको अवस्था देखिएर कसैलाई पनि निराश नहुन आग्रह गरे । 
‘हामी आत्तिएका छैनौँ, आत्तिनु पनि हुन्न। अहिले अवस्था देखेर साथीहरूमा निरास होला, हिम्मतका साथबाट अगाडि बढनुपर्छ’, नेपालले भने, ‘जनताको अपेक्षा र विश्वास छ। सैद्धान्तिक सोच र धारणाबाट हामी अगाडि बढ्नुपर्छ।’

उनले कसरी कम्युनिस्ट पार्टीलाई बलियो बनाउने भन्ने हिसाबले अघि बढ्नुपर्नेमा पनि जोड दिए । ‘कसरी आन्दोलन अगाडि बढाउने भन्ने विषयमा चिन्तन मनन गरेर अगाडि बढनुपर्छ। कसरी कम्युनिस्ट पार्टीलाई बलियो बनाउने भन्ने हिसाबले अगाडि बढनुपर्छ’, उनले भने, ‘गलत प्रवृत्तिका विरुद्ध एकजुट हुने बेला हो । हामी विचलित भएर हिँड्ने होइन।’

नेपाल समूहको केन्द्रीय कमिटी बैठक नयाँ बानेश्वरको शंखमुलस्थित ए वान क्याफेमा  १२ बजेबाट बैठक जारी छ । केन्द्रीय कमिटी अघि नेपाल समूहको स्थायी कमिटी बैठक पनि बसेको थियो ।  बैठकमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा गरेको निर्णयबारे छलफल भएको थियो  ।

शुक्रबार बैठक राखेर ओलीले नवौं महाधिवेशनबाट चुनिएका अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारीहरूको पद खारेज खारेज गर्नुका साथै जिम्मेवारी हेरफेर गरेका थिए ।

ओलीको यो निर्णयपछि रुष्ट बनेको नेपाल समूहले चैत ४ गतेका लागि राष्ट्रिय भेला समेत बोलाइसकेको छ भने समानान्तर कमिटी बनाउने घोषणा पनि गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस