बलात्कार तथा जर्बजस्ती करणी प्रयास गर्ने तिनजना युवक वीरगञ्जबाट पक्राउ

सफल खबर संवाददाता

शनिबार, २९ फागुन २०७७, ०९ : ४५
बलात्कार तथा जर्बजस्ती करणी प्रयास गर्ने तिनजना युवक वीरगञ्जबाट पक्राउ

वीरगञ्ज । १९ वर्षिया युवतीलाई जर्बजस्ती करणी गरेको आरोपमा वीरगञ्जबाट दुईजना युवालाई पक्राउ गरेको छ । पक्राउ परेका युवाहरुले विवाहको प्रलोभनमा युवतीलाई जबरजस्ती करणी गरेका हुन् ।  पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३१ कटगेनवाका २२ वर्षका अनिल कुशवाहा र सखुवा प्रसौनी गाउँपालिका–५ बलुवा टोलका १८ वर्षे रोशन कुमार यादव रहेका छन् ।

पक्राउ परेका कुशवाहाले १९ वर्षकी युवतीलाई २० वर्ष पुगेपछि बिहे गर्ने भन्दै जबरजस्ती कारणी गरेको प्रहरीले जनाएको छ । उनले युवतीलाई विवाह गर्छु भनी विश्वास दिलाउन २०७६ फाल्गुन १६ गते छेका (इनगेजमेन्ट) समेत गरेका थिए । त्यस पश्चात कुशवाहाले पटक–पटक करणी गरेको आरोप छ । उनले हाल अर्कै महिलासँग विवाह गरेका छन् ।

बिहे गर्ने प्रलोभन देखाइ आफ्नी छोरीलाई जबरजस्ती करणी गरेको कसूरमा कारबाही गरि पाऊँ भनि पीडित युवतीका बुवाले प्रहरीमा जाहेरी दिएपछि कुशवाहालाई पक्राउ गरिएको पर्साका प्रहरीले जनाएको छ ।  यस्तै बलात्कारको आरोपमा पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका ५ बालुवा टोल निवासी यादवले १६ वर्षकी किशोरीलाई गत फागुन ८ गते राति १० बजेको समयमा पीडितको घरमै गएर विवाह गर्छु भनि ललाइफकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

उनले किशोरीलाई भारतको गोरखपुर लगी डेरामा राखेर पटक–पटक करणी गरेको आरोप छ । पीडित किशोरीको परिवार तथा प्रहरीले खोजी गरिरहेको थाहा पाए पछि यादवले किशोरीलाई घर पठाइ दिएका थिए । किशोरीका बुवाले यादवविरुद्ध प्रहरीमा जाहेरी दिए उनलाई घरबाट नै पक्राउ गरेको हो ।

यसैबिच पर्साको पटेर्वा सुगौली गाउँपालिकाकी महिलालाई जबर्जस्ती कारणी गर्न खोज्ने युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका–४ अकुवा टोल बस्ने १९ वर्षका युवक अभिषेक दास थारु रहेका छन् ।