घरगोठको क्षतिपूर्ति दिँदै महाकाली सिँचाइ आयोजना

रासस

शुक्रबार, २८ फागुन २०७७, १२ : ३७
घरगोठको क्षतिपूर्ति दिँदै महाकाली सिँचाइ आयोजना

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत घर÷गोठलगायत संरचनाको क्षतिपूर्ति वितरण शुरु गरिएको छ ।

तीन वर्षमा १५ किलोमिटर मूल नहर निर्माण सक्ने लक्ष्यसहित तीन प्योजकमा ठेक्का दिइए पनि अवधि सकिनै लाग्दा आयोजनाले निर्माणस्थलमा पर्ने घर÷गोठलगायत संरचनाको क्षतिपूर्ति दुई किस्तामा वितरण गर्न लागेको हो ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमले निर्माणाधीन १२ किलोमिटरदेखि २८ किलोमिटरको बीचमा पर्ने स्थानीयवासीको भौतिक संरचनाको क्षतिपूर्ति दिन थालिएको बताए ।

उनले  क्षतिपूर्तिमा रु छ करोड रकम खर्च हुने जानकारी दिए ।केही समयअघि मात्रै राष्ट्रिय गौरवको आयोजनामा समाहित गरिएको सिँचाइ तेस्रो चरणले आर्थिक अभाव पनि लामो समयदेखि भोग्दै आएको छ । 

बेदकोट नगरपालिकाका चार सामुदायिक वनमा रूख कटानको अनुमति नपाउनाका साथै मन्त्रिपरिषद्बाट ऐलानी जग्गाको क्षतिपूर्तिको विषय टुङ्गो नलाग्दा मूल नहर निर्माण अलपत्र जस्तै छ ।

“ग्रामीण सडक, पुल, साइफनलगायत संरचना बने पनि रूख कटान र ऐलानी विवाद हल नहुँदा ठेकेदारले काम नै गर्न पाएका छैनन्”, निर्देशक बमले भने, “वनका रूख कटानको विषय टुङ्गो लाग्ने चरणमा रहेको भनिएको छ ।”

प्रतिक्रिया दिनुहोस