लमजुङ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले राइनासकोट पर्यटन महोत्सव शुरु गरिएको छ । तीनदिन सञ्चालन हुन लागेको महोत्सव ‘ग्रामीण संस्कृति जोगाउ हाम्रो नारा खेलकूद विकास गरौँ’ भन्ने नाराका साथ राइनास नगरपालिका–९ मा राइनासकोट सामुदायिक घरवास समितिको आयोजनामा शुरु भएको हो ।
नगर प्रमुख सिंहबहादुर थापाले महोत्सवका माध्यमबाट देशविदेशमा प्रचारप्रसार हुने र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए। राइनासकोटलाई नगरपालिकाले पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्दै आएको उनको भनाइ छ ।
वडा नं ९ का वडाध्यक्ष देवबहादुर थापाले यस्ता महोत्सवले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने भएकाले बेलाबेला जिल्लाका विभिन्न गाउँमा समेत आयोजना हुनलाई जरुरी रहेको बताए ।
महोत्सवका आयोजक राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर गुरुङले पहिलो पटक महोत्सव सञ्चालन गरेर गाउँमा पर्यटक भित्र्याउनका लागि गरिएको बताए । कोरोना सङ्क्रमणपछि पर्यटकको सङ्ख्यामा कमी भएकाले पर्यटक भित्र्याउनका लागि महोत्सव सञ्चालनले मद्दत पुग्ने आयोजकको अपेक्षा रहेको छ ।
बिहीबारदेखि शुरु भएको महोत्सवमा लोकदोहोरी तथा लोक गायक राजु परियार, सरिता दर्नान, प्रशान्त तमाङ, रितु थापा, सुवास छितिज कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा १२ कक्ष राखिएका छन् । महोत्सवमा विभिन्न स्थानबाट अवलोकनका लागि सयौँको सङ्ख्यामा उपस्थित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २८ फागुन २०७७, ११ : ४१
लेखकबाट थप