नेकपा एमाले र जनता समाजवादी पार्टी बिच आज निर्णायक वार्ता

सरकारमा सहभागी होल त समाजवादी ?

सफल खबर संवाददाता

शुक्रबार, २८ फागुन २०७७, ०९ : १८
नेकपा एमाले र जनता समाजवादी पार्टी बिच आज निर्णायक वार्ता

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बिच आज निर्णायक वार्ता हुने भएको छ । जसपा  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने, नहुने बारे आज पुनः निर्णायक वार्ता हुने भएको हो ।

यि दुई दल बिच विगत केही दिन यता निरन्तर वार्ता चलेपनि आज पुनः प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे निर्णायक वार्ता हुने नेताहरुले बताएका छन्। आज दुई दलबीच कार्यदलस्तरमा छलफल हुनेछ । 

नेताहरुका अनुसार यसअघि बिहीबार भएको एमाले र जसपाका शीर्ष नेताहरुबीचको छलफल ‘सकारात्मक भएको बताएका छन् । वार्ताको क्रममा जसपाले पहिला आफूहरुका माग पूरा भए मात्र सरकारमा सहभागी हुनेबारे छलफल गर्न सकिने बताउँदै आएको छ।

जसपाले रेशम चौधरीको रिहाई, मधेश आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता, पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित छानबिन आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संशोधन लगायतका माग उठाउँदै आएको छ ।

हिजोको छलफलमा एमालेको तर्फबाट प्रधानमन्त्री ओलीका साथै अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, ईश्वर पोखरेल, राजन भट्टराई लगायतका नेता सहभागी थिए। जसपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल कर्ण सहभागी भएका थिए। जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने छलफलमा सहभागी भएनन्।
 

प्रतिक्रिया दिनुहोस