दाङमा ऐतिहासिक ‘भोटे मेला’ सुरु

रासस

विहीबार, २७ फागुन २०७७, १५ : १३
दाङमा ऐतिहासिक ‘भोटे मेला’ सुरु

दाङ। दाङमा ऐतिहासिक ‘भोटे मेला शिवरात्रि’ आजदेखि सुरु भएको छ । जुम्ला, हुम्ला, मुगुलगायतबाट यार्सागुम्बा, जडीबुटी, राडी, कम्बल बेच्न आएका भोटेहरूले दाङको तुलसीपुरमा भोटे मेला लगाउने गरेको इतिहास छ ।

पछिल्लो समय विसं २०६१ देखि बन्द रहेको यो मेला गत वर्षदेखि दाङबासीले नै चासोका साथ  पुनः सञ्चालन गरेका हुन् । ऐतिहासिक मेलालाई संरक्षण गर्ने उद्देश्यले मेला लगाउन शुरु गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक कुमालले बताए ।

उनका अनुसार मेला चैत २ गतेसम्म सञ्चालन हुनेछ । उक्त मेलाको लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले मेला ऐतिहासिक भएकाले यसलाई संरक्षण गर्नुपर्ने बताए ।

उनका अनुसार यस मेलाको विशेषता नै घोडा दौड हो, यस प्रतियोगितालाई राष्ट्रियस्तरको बनाउनुपर्छ । मेलालाई परिस्कृत गरेर थप व्यवस्थित गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले उपमहानगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीयस्थलको संरक्षण गरिएको भन्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरीन् ।

यस मेलालाई ऐतिहासिक झल्किने गरी मेलालाई निरन्तरता दिने बताईन् । तुलसीपुर उपमहानगरपालिका–७ स्थित पर्सेनीमा उक्त मेला लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस