नागढुङ्गा सुरुङमार्ग निर्माण नौ प्रतिशत

रासस

विहीबार, २७ फागुन २०७७, १४ : ५०
नागढुङ्गा सुरुङमार्ग निर्माण नौ प्रतिशत

काठमाडौँ । नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माण अघि बढेको छ । अहिलेसम्म सुरुङको नौ प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ । गत वर्ष कोभिड–१९ प्रभावका कारण निर्माण सुस्त भए पनि चालु आवमा निर्माणले गति लिइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।  

गत वर्षसम्म तोकिएको तालिकाभन्दा धेरै ढिलाइ भए पनि अहिले झण्डै एक महिना मात्रै ढिला भएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । अहिले सुरुङमा चौबीसै घण्टा काम भइरहेको छ ।

उनले भने , “शनिबारबाहेक अरु दिनमा रातदिन काम भइरहेको छ ।” सुरुङ खन्ने कामसँगै अहिले आवश्यक पर्ने सहायक पूर्वाधार निर्माणको कामसमेत अघि बढिरहेको छ । 

पूर्वतर्फबाट मुख्य सुरुङको ४९ किलोमिटर र पश्चिमतर्फबाट १४९ किमी खनिसकिएको आयोजनाले जनाएको छ । आपत्कालीन प्रयोगका लागि बनाइएको सुरुङ ४५ किमी खनिएको छ । शुरुमा कठिन भूगोलमा सुरुङ खन्ने काम भइसकेकाले अब खन्न सजिलो हुने प्रमुख शाक्यले बताए । उनले भने, “अबको दिनमा सुरुङको गति बढ्नेछ ।”

सोही आयोजनाअन्तर्गत मुख्य सुरुङको अगाडिपट्टि नागढुङ्गामा ‘ओभरपास’ निर्माण भइरहेको छ । सुरुङसम्म पुग्ने पहुँचको सडक निर्माण अघि बढेको छ । आयोजनाका कारण खानेपानीको समस्या आउन सक्ने भएकाले विकल्पका रुपमा पूर्वाधार निर्माण अघि बढिरहेको छ । पहुँच सडक र ‘ओभरपास’ डेढ महिनामा निर्माण सकिने बताइएको छ ।

आयोजनाले सिस्नेरी खोलालाई अर्कातर्फ फर्काएर सम्याउन लागेको छ । सो स्थानमा स्थानीयवासीको उत्पादन सङ्कलन गर्ने केन्द्रलगायत विभिन्न पूर्वाधार निर्माणका लागि खोला पुरिइरहेको प्रमुख शाक्यले बताए । ठूलो मैदान बनाउने काम एक चरणको पूरा भएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस