घरेलु हिंसा सहन नसकेर सुकीले रोजेकी यो बाटो

सफल खबर संवाददाता

बुधबार, २६ फागुन २०७७, १५ : ४०
घरेलु हिंसा सहन नसकेर सुकीले रोजेकी यो बाटो

सुर्खेत । ३५ वर्षीया सुकी बडुवाल चार सन्तानकी आमा थिइन् । दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकीले बडो दुःखका खाडलहरु पार गर्दै सन्तान हुर्काएकी थिइन् । उनकै काँधमा सन्तानको लालनपालन भइरहेको थियो । आँफ्नो गास कटाएर सन्तानको पेट भर्थिन् । सुकी आफू टालेको कपडा लगाउँथिन्, सन्तानलाई नयाँ नाना लगाइदिन्थिन् ।

मुटुका टुक्रा थिए सुकीका लागि चार सन्तान । अविकसित, अशिक्षा र गरिबीको चपेटामा परेको जिल्ला दैलेख, त्यसमाथि अझ दुर्गम ठाउँ दैलेखकै आठबीस नगरपालिका–३ निमायलमै ज्याला मजदुरी काम गरेर सन्तानलाई हुकाउँदै गएकी थिइन् सुकी । सुकी आफैँमा अशिक्षित थिइन्, चरम गरिबीको चपेटामा पनि थिइन् । परिवार नियोजनको बारे न उनले जानिन्, न कसैले उनलाई सिकायो नै । हेर्दाहेर्दै उनी चार सन्तानसम्मकी आमा बन्न पुगिन् । 

जसोतसो दुःखको भूमरीमै बसेर भए पनि सन्तानको लालनपालन गरिरहेकी सुकीले दैनिक पतिबाट हिंसा सहनुपर्ने बाध्यात्मक अवस्था थियो । उनका श्रीमान दैनिक मादक पदार्थ सेवन गर्थे । मादक पदार्थ सेवन गर्ने अनि श्रीमती सुकीलार्ई कुटपिट गर्ने दिनचर्या बनेको थियो श्रीमानको । चरम गरिबी, त्यसमाथि पनि दिनहुँ मादक पदार्थ सेवन गरेका श्रीमानको कुटाइ सहनुपर्ने बाध्यता । सुकी आफूले दुःख गरेर कमाएको दुईचार रुपैयाँसमेत सन्तानको इच्छामा खर्च गर्न पाउँथिइनन् ।  

कमाएको पैसा पनि श्रीमान मादक पदार्थ सेवन गर्न लैजान्थे । श्रीमानको कुटाइ नखाएको कुनै दिन हुन्थेन सुकीको । यस्तो नियति दिनहुँ भोग्न परेपछि सुकीको मन विक्षिप्त भयो । सम्हाल्न सकिनन् आफूलाई ।  अन्तत यस्तो बाटो रोजिन् उनले । जुन बाटोले उनलाई मात्र लगेन, उनका चार सन्तानलाई नै बढा-यो ।

सुकीले रोजेको बाटो 

गत सोमबार देशभर १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै थियो ।  शहरका ठुला होटलदेखि स्थानीय सरकारका सदरमुकाममा समेत महिला हिंसा कम गर्न महिलाहरु ‘प्लेकार्ड’ बोकेर -याली गरेका थिए । महिला हिंसाको विरुद्धमा आवाज उठाइरहेका थिए । पुरुषलाई खबरदारी गरिरहेका थिए । महिलालाई थिचोमिचो नगर्न चुनौती दिइरहेका थिए । आधा हिस्सा खोजिरहेका थिए ।  महिलामाथि हुने हिंसाका घटना आगामी दिनमा कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर सहरका होटलहरुमा बहस भएका थिए ।

महिला हिंसा मनाइरहँदा सोही दिन सुकीले चार सन्तान बोकेर कर्णाली नदीमा हामफालिन् भन्ने खबर हावासरी फैलियो । प्रहरी खोजीमा लाग्यो, अन्ततः प्रहरीले सुकीसहित १५ वर्षीया कल्पना, १२ वर्षीया सरिता र ८ वर्षीया ललितको शव भेटाएको छ । ६ वर्षीया बालिका रजनीको अवस्था अझै अज्ञात छ ।

श्रमिक महिला दिवसकै दिन सुकीसहित सन्तानको प्राणपखेरु उड्यो। घटना हुने दिन सुकीले मदिराले लठ्ठ भएका आफ्ना श्रीमानलाई गाउँकै स्थानीय बजारबाट घरमा ल्याएर सुताएकी थिइन्। त्यो दिन सुकीका श्रीमान् मदिराका कारण उभिनसमेत सकेका थिएनन् । घरमा गाईवस्तु थियो । घरमा भएका गाईलाई घाँस काट्ने बाहना बनाएर सुकी चार सन्तानसहित कर्णाली नदी किनारको बगरतिर लागिन् । श्रीमानको दिनहुँ किचलोबाट विक्षिप्त बनेकी उनले आफूलाई सम्हाल्न सकिनन् र चार सन्तानकै सल्लाहमा सबै एकैचोटी कर्णालीमा हामफाले ।

कर्णालीमा गरिवीले मान्छेको ज्यान लिन्छ भन्ने कुुरा कुनै नौलो भने होइन । घरेलु हिंसाले ज्यान लिन्छ भन्ने पनि नौलो होइन, तर हिंसा सहन नसकेर आफ्ना चार सन्तानसहित हामफालेर आत्महत्या गर्नु नौलो हो । आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराका अनुसार हिंसा सहन नसकेर नै सुकीले आत्महत्याको बाटो रोजिन् । उनले थपिन्, ‘२१ औँ शदाब्दीमा आएर पनि घरेलु हिंसाका कारण महिलाहरुले ज्यान गुमाउनु भनेको आफैमा लज्जित कुरा हो । यहाँ दोष कसलाई भन्नु, दोषी त समाज हो । गरिबी हो, अशिक्षा हो, घरेलु हिंसा हो ।’ 

पाँचै जनाले सल्लाह गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।  घटनाको प्रकृतिले नै चारसन्तान र आमाले सल्लाह गरेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  दुई बालिकाको शव माछा मार्ने जालमा भेटिएको थियो भने सुकी र उनका छोराको शव मंगलबार अछामको पञ्चदेवल नगरपालिकास्थित टोट्केसाल नजिकैको कर्णाली नदीको भंगालोमा भेटिएको थियो । घटनालगत्तै कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त पन्त लगायतको टोली पनि घटनास्थलको निरीक्षण गरेको छ।  

भारतमा मजदुरी गर्ने उनका पति मानसिंह बडुवाल कोरोना महामारीपछि २०७६ चैतमा घर फर्किएका थिए । स्थानीयका अनुसार सुकीले नै गाउँमा मजदुरी गरी ६ जनाको परिवारको पालन पोषण गरिरहेकी थिइन् । सोही वडाका अध्यक्ष प्रयोग शाहीले पतिको यातना सहन नसकी सुकीले सन्तानसहित आत्महत्याको बाटो रोजेको दावी गरे ।  उनका अनुसार मानसिंहले छोराछोरीलाई पनि दैनिकजसो कुटपिट गर्थे । 

 घटनाको अनुसन्धानका लागि मानसिंहलाई सोमबार नै पक्राउ गरिएको छ। गाउँ शोकमा डुबेको छ । 

प्रतिक्रिया दिनुहोस