डोटी । वर्षौँदेखि घर र जमीन नभएका डोटीका बादी समुदायका लागि दिपायल सिलगढी नगरपालिकाले जमीन खरीद गरेर घर निर्माण गर्न शुरु गरेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सरकारी जमीनमा बस्दै आएका बादी समुदायका भूमिहीन सात परिवारका लागि अब घर बन्ने भएको छ ।
नगरपालिकाले कार्यविधि बनाएर ती परिवारलाई जग्गा उपलब्ध गराएपछि सुदूरपश्चिम प्रदेश सरकारले आवासका लागि दुई/दुईकोठे घरको शिलान्यास गरिएको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिईन् । भूमिहीन बादी समुदायका ती परिवारलाई दुईकोठे घर निर्माण गर्न रु ४१ लाख ४९ हजार ९८.७६ मा ठेक्का सम्झौता भएको छ ।
उनका अनुसार घर निर्माणका लागि नगरपालिकाले कार्यविधि नै बनाएर आर्थिक वर्ष २०७५/७६ को रु १२ लाख रकमबाट तीन घरपरिवारलाई र आव २०७६/७७ को रु १२ लाख रकमबाट चार घरपरिवारलाई गरी जम्मा सात घरपरिवारलाई जग्गा धनी लालपुर्जा वितरण गरिएको छ ।
दिपायल सिलगढी नगरपालिकाले विसं २०७६ वैशाख ५ गते पुस्कर बादी, गणेशबहादुर बादी र श्याम दासलाई उक्त जग्गाधनी पुर्जा प्रदान गरेको थियो भने माया बादी, भक्तबहादुर दास, तेजबहादुर दास, दिलबहादुर बादीलाई आज जग्गाधनी पुर्जा प्रदान गरेको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले जानकारी दिए ।
उनका अनुसार उक्त जग्गा बिक्री वितरण भने गर्न नपाइने गरी जग्गाधनी पुर्जा प्रदान गरिएको छ । दिपायल सिलगढी नगरपालिकाले उनीहरुका लागि जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले घर निर्माणमा सहयोग गरेको हो ।
चालू आवको असार मसान्तभित्र सातवटै घर निर्माण गरिसक्ने गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग गएको गत माघ १० गते सम्झौता भई निर्माणको जिम्मा पाएको नागार्जुन कन्स्ट्रक्सन कञ्चनपुरका प्रतिनिधि सुचित्र शाहले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २६ फागुन २०७७, ११ : ४१
लेखकबाट थप