युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरियो

सफल खबर संवाददाता

बुधबार, २६ फागुन २०७७, १० : ३९
युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौं । इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनल अर्थात अन्तिम १६ बाटै बाहिरिएको छ ।

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई अतिरिक्त समयमा ३-२ ले पराजित गरे पनि अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो ।

पहिलो लिगमा पोर्टोले घरेलु मैदानमा युभेन्ट्सलाई २-१ ले पराजित गरेको थियो । दोस्रो लेग युभेन्ट्सले ३-२ ले जितेपछि समग्रमा नतिजा ४-४ को बराबरी भयो । तर पोर्टोले अवे मैदानमा धेरै गोल गरेका आधारमा क्वाटरफाइनलमा स्थान बनाएको हो ।

युभेन्टसको मैदानमा भएको खेलको १९औं मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए ‌। तर, खेलको ४९औं मिनेटमा फेडेरिको चिएसाले युभेन्ट्सका लागि बराबरी गोल फर्काए ।

५४औं मिनेटमा मेहेदी टेरेमी रातो कार्ड पाउँदै मैदान छाडेपछि पोर्टो १० खेलाडीमा समेटियो । त्यसैको फाइदा उठाउँदै ६३औं मिनेटमा चिएसाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २-१ को अग्रता दिलाए ।

उक्त गोलपछि स्कोर समग्रमा ३-३ को अवस्थामा पुगेको थियो । निर्धित ९० मिनेटसम्म यही स्कोर कायम रहेपछि ३० मिनेटको अतिरिक्त समय थप गरियो ।

जसमा दुवै टिमले समान एक गोल गरे । फाइदा भने पोर्टोलाई नै भयो ।११५औं मिनेटमा पोर्टोका सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

११७औं मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्टसलाई ३-२ को जित दिलाए । तर यो जित युभेन्टसलाई क्वाटरफाइनलमा पुर्‍याउन पर्याप्त भएन ।क्रिस्टियानो रोनाल्डो सम्मलिति युभेन्ट्स लगातार दोस्रो पटक च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस