नेपाली आकाशमै इन्टरनेटको सुविधा

पत्रपत्रिकाबाट

शुक्रबार, २१ फागुन २०७७, ०७ : ५०
नेपाली आकाशमै इन्टरनेटको सुविधा

काठमाडौँ । विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी जहाजहरूले इन्टरनेट प्रयोग गर्न पाउने गरी खुला गर्ने तयारी गरेकोे हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको सहमति प्राप्त विदेशी एयरलाइन्सले आफ्ना यात्रुलाई यस्तो सुविधा उपलब्ध गराउन सक्नेछन् । “उड्ययन प्राधिकरणबाट सहमति ल्याउने विदेशी एयरलाइन्सलाई हामी ‘नो अब्जेक्सन’ दिन्छौँ”, उनले भने ।

विदेशी जहाजमा इन्टरनेट प्रयोग गर्न पाउने सेवासम्बन्धी प्रस्ताव यति बेला प्राधिकरणको बोर्डमा प्रस्तावित छ । बोर्डबाट उक्त प्रस्ताव पारित हुनासाथ जहाजमा इन्टरनेट प्रयोग गर्न पाउने सुविधा खुला हुनेछ । “अब छिटै यस्तो सुविधा दिने गरी तयारी भइरहेको छ”, उनले भने । यो प्रक्रियामा प्राधिकरणको भूमिका ‘नो अब्जेक्सन’ दिनेमा हुनेछ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आइकाओ) ले जहाजभित्र मोबाइल प्रयोगलाई अत्यावश्यकीय अवस्थाका रूपमा व्याख्या गर्दै डेढ दशकअघि नै यसलाई खुला गर्न सकिने गरी निर्णय गरेको थियो । आइकाओको उक्त व्यवस्थाअनुसार विश्वका कतिपय देशले उडानभित्रै इन्टरनेट तथा फोन गर्न सक्ने सुविधा उपलब्ध गराइरहेका छन् ।

छिमेकी देश भारतले पनि सन् २०१८ डिसेम्बरमा भारतीय आकाशमा विदेशी तथा भारतीय जहाजहरूले इन्टरनेट तथा फोन कल गर्न सक्ने सुविधा खुला गरेको थियो । त्यस्तै कतार एयरलाइन्स, सिङ्गापुर एयरलाइन्स, इत्तिहादलगायत नेपालमा उडान सेवा उपलब्ध गराइरहेका ठूला जहाज कम्पनीहरूले पनि यस्तो सुविधा उपलब्ध गराइरहेका छन् ।

यद्यपि नेपाली आकाशमा इन्टरनेट प्रयोग गर्न पाउने व्यवस्था नभएकाले अहिलेसम्म त्यस्ता एयरलाइन्सले यो सुविधा उपलब्ध गराउन पाएका छैनन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस