प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समुह कसरी आए शान्तिपुर्ण राजिनितीमा ?

शुक्रबार, २१ फागुन २०७७, ०७ : ४५
प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समुह कसरी आए शान्तिपुर्ण राजिनितीमा ?

काठमाडौँ  । संविधान र कानुनले वर्जित गरेका गतिविधि त्याग्न सहमत भएपछि नेत्रविक्रम चन्द समूहमाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध सरकारले बिहीबार फुकुवा गरेको छ ।

हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने चन्द समूहको लिखित प्रतिबद्धता र थुनामा रहेका नेता–कार्यकर्ता रिहाइ तथा उनीहरूमाथि लागेका ‘राजनीतिक मुद्दा’ फिर्ता गर्न सरकार सहमत भएपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो ।
सरकारले २०७५ फागुन २८ गतेबाट चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्ध फुकुवाको औपचारिक घोषणा भने शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दको सहमतिपत्रमा हस्ताक्षर एवं संयुक्त सम्बोधनपछि गरिनेछ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले दुवै वार्ता टोली संयोजकले संयुक्त रूपमा तयार पारेको तीनबुँदे सहमतिपत्रलाई पनि मन्त्रिपरिषद्ले अनुमोदन गरेको जानकारी दिए ।

सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा चन्द समूहबाट सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य उदयबहादुर चलाउने सम्मिलित वार्ता टोली मंगलबार गठन गरिएको थियो । दुवै टोलीले बुधबार बिहान र बेलुका तथा बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता गरेर निष्कर्ष निकालेका थिए ।

सहमतिपत्रमा शुक्रबार हुने हस्ताक्षर कार्यक्रममार्फत महासचिव चन्द सार्वजनिक हुँदै छन् । मध्यपश्चिम क्षेत्रबाट चन्द बिहीबार राति नै काठमाडौं आइसकेका छन् । सहमतिपत्र शुक्रबार औपचारिक कार्यक्रममार्फत सार्वजनिक गर्ने भन्दै गोप्य राखिएको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस