प्रदेश नं १ सरकारको पर्यटक भित्र्याउने योजना

रासस

मंगलबार, १८ फागुन २०७७, १४ : २६
प्रदेश नं १ सरकारको पर्यटक भित्र्याउने योजना

विराटनगर । आवश्यक प्रचार र पूर्वाधारको कमीका कारण प्रदेश नं १ का कैयौँ सम्भावना भएका पर्यटकीय एवं धार्मिकस्थल पनि छायाँमा परेकाले अब त्यसो हुन नदिन प्रदेश नं १ सरकारले योजना बनाएको छ ।

यस प्रदेशका पर्यटकीय सम्भावना बोकेका स्थानहरुको संरक्षण एवं प्रवद्र्धन गर्न सरकारले एव वर्षअघि १०० वटा नयाँ पर्यटकीय गन्तव्यको घोषणा गरेको थियो । यतिखेर देशमा कोरोना महामारीको कहर घटेको देखिएकाले प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना बनाएको हो । 

प्रदेश नं १ का केही पर्यटकीयस्थलमा सोलुखुम्बुको गोक्यो ताल, इलामको माईपोखरी र सुनसरीको कोशी टप्पु आरक्षण क्षेत्रसहित १३ वटा स्थान परेका छन् ।

हुन त यस प्रदेशमा धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वका अरू धेरै स्थान छन् तर सरकारले यी स्थानलाई पनि प्राथमिकतामा नै राखेर बिस्तारै अन्य स्थानको खोजी गरी विकास गर्ने लक्ष्य लिएको छ ।

नेपाल सरकारले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट गरिएका सिफारिसका आधारमा यी गन्तव्य स्थानको छनोट गरेको हो । नयाँ पर्यटकीय गन्तव्यका लागि छ सयभन्दा बढी स्थान प्रस्तावित भएकामा तीमध्ये कुन गन्तव्यलाई १०० वटाभित्र समेट्ने र तिनलाई कसरी प्रवद्र्धन गर्ने भन्ने बारेमा विभिन्न आधार तय गरिएको थियो ।

मन्त्रालयका अनुसार नयाँ छनोट भएका पर्यटकीय गन्तव्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीयवासीको पनि सहयोगमा पर्यटनको पूर्वाधार निर्माण गरी घुम्न योग्य बनाइने छ ।

सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तव्यलाई अब विशेषरुपमा विकास गर्ने तथा प्रचार गरेर संरक्षण गरिने सरकारको नीति छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्ने गरी नयाँ गन्तव्यको प्रवद्र्धन गर्ने योजना बनाइएको थियो तर कोभिड–१९ का कारण नेपाल भ्रमण वर्ष सफल भएन ।

तर अब भने यी गन्तव्यहरुको राम्रो नीति तथा योजनाका साथ संरक्षण एवं प्रचारप्रसार गर्ने योजनामा प्रदेश सरकार रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस