मनाइयो योगी नरहरि नाथको १०६ औँ प्राकट्य दिवस

सफल खबर संवाददाता

मंगलबार, १८ फागुन २०७७, १३ : २९
मनाइयो योगी नरहरि नाथको १०६ औँ प्राकट्य दिवस

गैँडाकोट । राष्टगुरु योगी नरहरि नाथको १०६ औँ प्राकट्य दिवस धुमधामका साथ मनाइएको छ । श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रम धार्मिक वन गैँडाकोट १० कोटीहोम स्थलीमा धार्मिक अगुवा तथा स्थानीय बासिन्दाको सहभागितामा योगी नरहरि नाथको कृतित्व र ब्यक्तित्व विषयक विचार ब्यक्त गर्दै १०६ औँ प्राकट्य दिवस मनाइएको हो । 

राष्ट्रगुरु योगी नरहरि नाथ आदि नाथ प्रवर्तित नाथयोग सम्प्रदायका मुकुट मार्ग, महायोगी गुरु गोरखनाथ परम्पराका योगी शिरोमणी मानिन्छन् । कार्यक्रमका प्रमुख अतिथि देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलले वर्तमान अस्थिर नेपाली समाज र राजनीतिमा गुरुको दर्शन र सिदान्त निकै उपयोगी रहेकोले नरहरि नाथका विचारलाई हरेक नागरिकले अनुसरण गर्न सके देश सही मार्गमा अगाडि बढ्ने बताए । आस्था र निष्ठा हराएको यो बेला गुरुको दर्शन धेरै उपयोगी रहने उनी बताउँछन् ।

गुरु नरहरि नाथ इतिहास तथा पुरातत्वका विलक्षण ज्ञाता एवं प्रवक्ता, काव्य, महाकाव्य एवं उपदेशप्रधान, सयौँ ग्र्रन्थरत्नका प्रणेता, महान साहित्यकार, हिमवतखण्डका प्रथम अन्वेषक, सम्पादक एवं अनुवादक, वाग्देवतावतार ब्रह्मलीन योगी हुन् ।

योगी नरहरिनाथको जन्म साबिकको कर्णाली अञ्चलको कालीकोट जिल्ला अन्तर्गत लालू भन्ने गाउँमा विक्रम सम्वत १९७१ फागुन १७ गते सूर्योदय बेलामा भएको थियो ।  योगी नरहरि नाथको बाल्यकालको नाम बलवीर कृष्ण थापा थियो । आठ वर्षकै उमेरमा ब्रतवन्ध गरिएका बलवीरसिंहले १९८१ मा जुम्ला चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीसँग संन्यास लिएपछि उनको नाम योगी नरहरि नाथ रहन गएको थियो ।

योगी नरहरि नाथले सम्पादन गरेका हरेक कृतिले राष्ट्रको गरिमालाई उँचो बनाएको योगीका चेला शान्तप्रसाद पोख्रेलले बताए ।  योगीका ५७१ कृति रहेको र हरेक कृतिले राष्ट्र, राष्ट्रियता, भाषा, संस्कार, सभ्यता र पहिचानका बिषयहरुलाई जोड दिएको उनले बताए । 

योगीकै पहलमा दाङमा ‘नेपाल संस्कृत विश्वविद्यालय र भारतको गिरिजापुरीमा ‘सरयु संस्कृत विश्वविद्यालय स्थापना भएको पनि उनले बताए । योगीले प्रकृति संरक्षणका लागि कोटीहोम गरेका र  गैँडाकोटको पितौजीमा ३४औँ कोटीहोम यज्ञ भएको उनले बताए । पाश्चात्यहरुले अहिले पूर्वीय दर्शनको होमबारे अध्ययन अनुसन्धान गरिरहेको उनी बताउँछन् ।

शिक्षामा सुधार गरेमा देशको सबै क्षेत्रको विकास हुन्छ भन्ने योगीको मानसिकताका कारण उनले धेरै ठाउँमा गुरुकुल स्थापना गर्दै हिँडेको र धेरै ठाउँमा गुरुकुल स्थापना गरी संस्कार र सभ्यता विकास गर्न गुरु निरन्तर लागिरहेको गुरु भक्त योगी पिताम्बरले बताए । गुरुले गौशाला र गुरुकुललाई सधैँ अग्रभागमा राख्ने गरेको उनको भनाइ छ । गुरुको आस्था गर्नेले गुरुको विचार अनुसरण गर्न आवश्यक रहेको पिताम्बर बताउँछन् । 

योगीको जीवनीबारे विद्यावारिधी गर्दै गरेका श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रम धार्मिक वनका मठाधिस योगी यदुनाथ पोखरेलले योगीका बारेमा विदेशी सञ्चारमाध्यमले महत्वपूर्ण स्थान दिने गरेको बताए । नरहरिनाथले विसं २०३८ माघे सङ्क्रान्तिका दिन गलेश्वरबाबा आश्रम देवघाटधामबाट कोटीहोम गर्न शुरु गरी १२९ कोटीहोम, ४५ लक्ष्य होम र पाँच शिवयज्ञ सम्पन्न गरेका थिए । 

‘योगीले कोटीहोम यज्ञ आदिका माध्यमबाट वैदिक सनातन दर्शन, वेद, गायत्री, संस्कृत भाषा र गाईको महत्वबारे मानव समाजलाई शिक्षित तुल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो’ पोख्रेलले भने, ‘कोटीहोमकै माध्यमबाट सङ्कलन भएको आर्थिक सहयोगलाई उहाँले गुरुकुलहरू स्थापना गराउन सदुपयोग गर्नुभएको छ ।’ 

विश्वभरि रहेका सम्पूर्ण हिन्दू सभ्यताका अनुयायीहरुका अभिभावकका रुपमा योगी नरहरिनाथ रहेका छन् । श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रम धार्मिक वनमा पनि योगी नरहरिनाथ संस्कृत विद्यापिठम गीता पाठशाला स्थापना गरिएको छ । सामाजिक ब्यक्तित्व मदनभक्त अधिकारी अध्यक्ष रहेको गुरुकुल समिति समेत निमार्ण गरी गुरुकुल भवनको समेत उद्घाटन गरिएको हो । 

समावेशी गुरुकुल निर्माण गरिएकाले समाजका सबै जातजातिका मानिसका छोराछोरी यो गुरुकुलमा बसेर निःशुल्क अध्ययन गर्न पाउने छन् । श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रम धार्मिक वन समितिका अध्यक्ष मनोहरि कँडेलले गुरुकोे बाटो नै मुक्तिको बाटो भएको बताए । उनले कोटीहोम लगाउँदा गुरुसंगै सामिप्यतामा बसेर गरेका काम र गुरुको योगदानको चर्चा गरे । 

कार्यक्रममा गुरुकुलका बटुक तथा समितिका तर्फबाट भजन कृतन समेत भएको थियो । नरहरिनाथको स्वर्गारोहण विसं २०५९ फागुन १३ गते काठमाडौँको मृगस्थलीमा भएको थियो ।

यसैबीच, श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रम धार्मिक वनको सूचना तथा सञ्चार प्रमुखमा ग्यालेक्सी टिभी र सफल खबर अनलाइनका सम्वाददाता प्रकाश सिग्देललाई मनोनयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस