दुर्गम बस्ती जोड्ने सडक निर्माण, बाजागाजासहित खुशीयाली

रासस

मंगलबार, १८ फागुन २०७७, १० : ४५
दुर्गम बस्ती जोड्ने सडक निर्माण, बाजागाजासहित खुशीयाली

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा गौरवको आयोजनाको रूपमा सञ्चालन भएको दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमङ्गले सडकको उद्घाटन गरिएको छ। गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला–कुइनेमङ्गले सडकखण्डअन्तर्गत रघुगङ्गा गाउँपालिका–४ दग्नामको अजिङ्गर भिरमा पुगेर रोकिएको सडक गाउँपालिका र जलविद्युत निर्माण गर्ने तुँदीपावर र संयुक्त ऊर्जा कम्पनीको साझेदारीमा अक्करे पहाडमा विस्फोटक पदार्थको सहायताले सडकको ट्र्याक निर्माणले पूर्णता पाएको थियो ।

सडकको ट्र्याक निर्माण भएर नियमितरूपमा सवारी वारपार गर्न थालेसँगै सोमवार समारोह आयोजना गरी बाजागाजासहित सडकको उद्घाटन गरिएको हो । गलेश्वरदेखि कुइनेमङ्गलेसम्म ३६ किलोमिटर सडकको ट्र्याक निर्माणमा स्थानीय सरकारसँगै सङ्घीय र प्रदेश सरकारको समेत साझेदारी रहेको छ । विकट बस्ती दर्मिजा, चिमखोला कुइनेमङ्गले सडक सञ्जालसँग जोडिएपछि स्थानीयवासीले बाजागाजासहित खुशीयाली मनाएका छन् ।

सोमवार गाउँपालिकाको वडा नं ४ दर्मिजामा बाजागाजा र नाचगानसहित सडकको उद्घाटन गरिएको हो । सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती दर्मिजा, चिमखोला र कुइनेमङ्गले क्षेत्रका नागरिकले यातायातको सुविधा लिन पाएका छन् । वडा नं ४ दर्मिजाका ९६ वर्षीय ज्येष्ठ नागरिक दलबहादुर गर्बुजा, वडा नं ८ कुइनेमङ्गलकी ९३ वर्षीया उडिमा कमिनी र वडा नं ७ चिमखोलाकी १० वर्षीया बालिका लिस्मा पुनले सडकको संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

अक्करे पहाड अजिङ्गर भिरमा रोकिएको सडकलाई तीन वर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, सङ्घ र जलविद्युत निर्माण गर्ने कम्पनीसँगको साझेदारीमा सडकको ट्र्याक निर्माण सम्भव भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । “प्रभावित तीनवटै वडाबाट यस वर्ष गौरवको योजना यसै योजनामा परिचालन भयो, गाउँपालिकाको पहलमा दुई जलविद्युत आयोजनाले समेत साझेदारी गरेपछि अन्ततः सडकको ट्र्याक निर्माणले पूर्णता पायो, आगामी दिनमा सडकलाई थप व्यवस्थित र सुरक्षित बनाउनतर्फ हाम्रो पहलकदमी रहनेछ”, अध्यक्ष भण्डारीले भने ।

म्याग्दीको दग्नाम, दर्मिजा–चिमखोला हुँदै कुइनेमङगले जोडने मोटरबाटो उदघाटन गर्न ९६ वर्षीय दलबहादुर गर्बुजालाई बोकेर ल्याइँदै । सडकको उदघाटन ९६ वर्षीय गर्बुजा, ९३ वर्षीया उदिमा कमिनी र १० वर्षीया लिस्मा पुनले गरे । आर्थिक वर्ष २०७४र७५ देखि हालसम्म यस सडकखण्डमा १७ करोडभन्दा बढी बजेट खर्च भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारबाट यस सडकखण्डमा कूल चार करोड पाँच लाख ७२ हजार ६८७ खर्च भएको जानकारी दिए । त्यसमध्ये गाउँपालिबाट तीन करोड ६२ लाख ६० हजार ७५६, प्रदेश सरकारबाट २१ लाख ५४ हजार ४६६ र सङ्घीय सरकारमार्फत स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत २१ लाख ५७ हजार ४६५ खर्च भएको छ भने गाउँपालिका अध्यक्ष भण्डारीले समेत व्यक्तिगतरूपमा १० लाख परिचालन गरेका छन् ।

यस वर्ष गाउँपालिकाको पहलमा चिमखोला र कुइनेमङ्गले क्षेत्रमा जलविद्युत निर्माण शुरु गरेका तुँदी हाइड्रोपावर र संयुक्त ऊर्जा प्रालिले ११ करोड बजेट यस क्षेत्रको सडक निर्माणमा खर्चिएको जनाएका छन् । सडक डिभिजन कार्यालयले तीन वर्षको अवधिमा दुई करोड ७६ लाख ४९ हजार ५२४ विनियोजन भई काम गरेको पाइएको छ ।

मोटरबाटो उद्घाटन गर्दै ज्येष्ठ नागरिकद्वय कमिनी र गर्बुजाले गाउँमा सडक निर्माण भई गाडी आएको देख्दा आफूलाई निकै खुशी लागेको बताएका थिए । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजाले सडक निर्माणले जनतालाई राहत मिलेको बताउँदै सडकलाई नियमित सञ्चालन गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस