प्रतिपक्षमा बस्न परे डेढ वर्षपछि दुईतिहाइ ल्याउँछौंः प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

सोमबार, १७ फागुन २०७७, १५ : ४०
प्रतिपक्षमा बस्न परे डेढ वर्षपछि दुईतिहाइ ल्याउँछौंः प्रधानमन्त्री ओली

file photo

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विधि र प्रक्रियाबाट प्रचण्ड, माधव नेपाल वा जो प्रधानमन्त्री बनेपनि आफूहरुलाई कुनै फरक नपर्ने बताएका छन् । सोमबार पोखरामा आयोजित आफू निकट नेकपाको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘विधि प्रक्रियामार्फत आउनुस् हामी मान्छौं । डेढवर्ष प्रतिपक्षमा बसेपछि दुई तिहाइको बहुमतसहित हामी सरकार जानेछौं ।’ 

उनले पार्टी एकताका क्रममा आफूले सबैलाई भागबण्डाको आधारमा नियुक्ति दिएकाले ती सबैलाई ‘नियुक्ति गर्नेले हटाउन पनि सक्ने’ बताए । 
उनले आफूले अल्पमत र बहुमतको कुनै हिसाव नगरीकन पार्टी एकताका बेलामा प्रचण्ड–नेपाल समूहलाई भाग दिएको दावी गरे । 

ओलीले आफूहरु सही बाटो हिँडेको पनि बताएका छन् । ओलीले आन्दोलनमा उदारचढाव हुने भन्दै साना मसिना कुरामा नअल्झिइ आफ्नो बाटोमा निरन्तर अघि बढ्नुपर्नेमा जोड दिए । ओलीले नेकपाको प्रचण्ड–नेपाल समूहको चर्को आलोचना गरे । ‘उनीहरुले भनिरहेका छन् केन्द्रीय कमिटिमा हाम्रो बहुमत छ, त्यो बहुमत त मैले नै दिएको बहुमत हो । कुनै चुनाव जितेर आएको कमिटी थियो र यो?’ ओलीले प्रश्न गर्दै भने, ‘पार्टीको एकताका लागि देश बनाउनका लागि दिएको ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ज्यानकै खतरा रहेको बताएका छन् । सरकारले विकास निर्माणमा तिव्र गतिमा काम गरिरहेकाले देशी विदेशी तत्तहरु नेकपालाई ध्वस्त पार्न लागिरेको भन्दै ओलीले आफूमाथि पनि प्रहार केन्द्रीत भएको बताएका हुन् । 

‘यस पार्टीको नेतृत्वमा रहेका हुनाले, यस पार्टीलाई अघि बढाइरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले, विकास निर्माणको कामहरुले गति लिइरहेको हुनाले ममाथि प्रहार केन्द्रीत छ’, ओलीले भने, ‘तपाईँहरु अनौंठो नमान्नु होला यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भैहाल्यो भनेपनि कुनै अनौठो नमान्नु होला । तर, त्यस्तो हुन दिइने छैन हामी सतर्कता अपनाउँछौं ।’

उनले आफू नरहेपनि पार्टी र आन्दोलन रहिरहने भन्दै पार्टी कुनै पनि हालतमा तलमाथि नपर्ने बताए । ‘म  नरहेपनि केही छैन । आन्दोलन छ, पार्टी छ, यस आन्दोलनले प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन’, ओलीले भने, ‘देशको भविष्य अन्धकारमा जान दिँन हुँदैन । यसपार्टीलाई तलमाथि पर्न दिन हुँदैन ।’

प्रधानमन्त्री ओलीले आफूहरुले देशको भौगोलिक अखण्डतालाई माया गर्ने बताउँदै राष्ट्रिय हितको रक्षा गर्ने बताएका छन् । उनले  भने, ‘हामी हाम्रो देशलाई साँच्चै नै माया गर्छौँ । देशको भौगोलिक अखण्डतालाई माया गर्छौँ , त्यसको रक्षा गर्छौ, राष्ट्रिय हितहरुको रक्षा गर्छौ  राष्ट्रियताको सवालमा सार्वभौमिकता, स्वाधीनता, राष्ट्रिय अखण्डताको हामी दृढताका साथ रक्षा गर्छौ’ ।’ 

विप्लव समूहका नेता ओली समूहमा
नेपाल कम्युनिस्ट पार्टी नेकपा (विप्लव) समूहका नेता बाबुलाल शाक्य नेकपाको केपी ओली समूहमा प्रवेश गरेका छन् । विप्लव समूहका विशेष जिल्ला कमिटी सदस्य समेत रहेका शाक्य नेकपा ओली समूहको पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलाका क्रममा ओली समूहमा प्रवेश गरेका हुन् । 
विप्लवका अन्य कार्यकर्ताका साथै काँग्रेस र जनता समाजवादी पार्टी परित्याग गरेर दर्जनौं नेता कार्यकर्ता पनि ओली समूहमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई गृहमन्त्री रामबहादुर थापालगायतले अबिर र माला लगाएर स्वागत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस