म्यानमारमा ‘कु’ विरुद्ध आन्दोलन जारी, १८ प्रदर्शनकारी मारिए

एजेन्सी

सोमबार, १७ फागुन २०७७, ०८ : २२
म्यानमारमा ‘कु’ विरुद्ध आन्दोलन जारी, १८ प्रदर्शनकारी मारिए

एजेन्सी ।  म्यानमारमा उठेको शान्तिपूर्ण जनप्रदर्शन दबाउन सुरक्षाकर्मीले गोली प्रहार गर्दा कम्तिमा १८ जनाको मृत्यु भएको छ । अरु दर्जनौँ प्रदर्शनकारी घाइते बनेका छन् ।

गत फेब्रुअरी १ मा सेनाले निर्वाचित सरकार अपदस्थ गर्दै सत्ता कब्जा गरेपछि नै यहाँ निरन्तर प्रदर्शन हुँदैआएको छ । आइतबारको जनप्रदर्शन पछिल्ला केही दिनयताकै विशाल भएको स्थानीय मिडियाले जनाएका छन् ।

आइतबारको शान्तिपूर्ण प्रदर्शन दबाउन सेना र प्रहरीले गोली प्रहार गर्नुका साथै थुप्रै रबरका गोली र पानीको फोहोरा प्रहार गरेको थियो । झडपको क्रममा ३० जना भन्दा धेरै घाइते छन् ।

देशकै ठूलो सहर यंगुन सहित विभिन्न सहरमा उठेका जनप्रदर्शनमाथि प्रहरीले ठूलो मात्रामा अश्रुग्यास, हवाइ फायरिङ र रबरका गोली प्रहार गरेको छ । पछिल्लो समय जनप्रदर्शन व्यापक बन्दै जाँदा सेना पनि आक्रामक रुपमा प्रस्तुत भएको छ ।

म्यानमारमा सेनाले सत्ता कब्जा गरेसँगै आन सान सू चीसहित थुप्रै नेता तथा कार्यकर्तालाई नजरबन्दी बनाएर नियन्त्रणमा राखेको छ । तर उनीहरुको रिहाइको माग गर्दै हरेक दिन प्रदर्शन उठिरहेको छ । यसअघि अघिल्लो साता पनि प्रदर्शनको क्रममा २ जना मारिएका थिए ।