फेवातालको तोकियो चार किल्ला :नयाँ क्षेत्रफल ५।७३ वर्गकिमी

रासस

आइतबार, १६ फागुन २०७७, १६ : ०३
फेवातालको तोकियो चार किल्ला :नयाँ क्षेत्रफल ५।७३ वर्गकिमी

कास्की । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।

समितिले तालको क्षेत्रफल यकीन गरी सङ्घीय सरकारलाई सिफारिस गरेकामा गत फागुन ११ गतेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले सो सम्बन्धमा निर्णय गरेपछि गण्डकी प्रदेश सरकारले आज समितिको प्रतिवेदन पोखरामा सार्वजनिक गरेको हो । नयाँ सीमाङ्कनअनुसार फेवाताल सीमारेखाको परिधि १८ किलोमिटर हुनेछ ।

फेवातालको चार किल्ला पूर्वमा ‘ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौँदी–चङ्खपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन’ कायम गरिएको छ ।

यसैगरी फेवातालको तल्लो तटीय क्षेत्र ९ड्यामसाइड, रानीवन, गौरीघाट, लेकसाइड, गैराको चौतारा, सेदी, खपौँदी, लामीडाँडा, अनदुसमेतको क्षेत्रमा वर्षायामको अधिकतम पानीको किनारालाई तालको सिमाना मान्ने र फेवातालको मुहानतर्फ मोरेबगरको माछापोखरीबाट उत्तरपूर्वतर्फ हर्पन खोला पार गरी भकुण्डेखोलाको अन्तिम घुम्ती नजिक हुँदै माझथुम ढिस्कोको दक्षिणी भागलाई छोई पूर्वतर्फ रहेको दलदले ढाप क्षेत्रलाई समेटी पामे घाँटी छिना मोटरबाटोसम्म कायम गरिएको समितिका संयोजक पुण्यप्रसाद पौडेलले जानकारी दिए ।

विश्वका १३ औँ सुन्दर तालमा पर्ने फेवाताल प्राकृतिक तथा मानवीय कारणबाट बर्सेनि अतिक्रमित हुँदै गएकाले तालको संरक्षणका लागि सर्वोच्च अदालतले पटकपटक सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेश कार्यान्वयनका लागि सरकारले जिल्ला विकास समिति कास्कीका पूर्व सभापतिसमेत रहनुभएका पौडेलेको संयोजकत्वमा गत कात्तिकमा चार किल्ला निर्धारण तथा सीमाङ्कन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस