बाँके । नेपाल र भारत सरकारबीच सम्झौता भएको १५ वर्षपछि नेपालगञ्ज नाकामा आइसिपी एकीकृत भन्सार जाँच चौकी निर्माण भइरहेको छ । भारत सरकारले सन् २००५ मा नेपालको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवा नाकामा आइसिपी निर्माण गरिदिने सहमति जनाएको थियो । विराटनगर र वीरगञ्जमा भने आइसिपी निर्माण गरी भारतले यसअघि नै नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
पश्चिम तराईको प्रमुख नाका मानिने नेपालगञ्जमा आइसिपी निर्माणको काम प्राथमिकतामा नपर्दा ढिलो गरी अहिले शुरु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा एक महिनादेखि आइसिपी निर्माणको काम चलिरहेको छ । आइसिपी निर्माणका लागि भारतको राजदीप कन्स्ट्रक्सन कम्पनीले एक अर्ब ४७ करोड ९भारुमा ठेक्का पाएको छ ।
भारत सरकारसँग भएको सम्झौताअनुसार उक्त ठेकेदार कम्पनीले दुई वर्षभित्रमा काम सम्पन्न गरिसक्नुपर्नेछ । भारत सरकारको सहयोगमा आइसिपी निर्माण गर्न नेपाल सरकारले एक दशकअघि जग्गा अधिग्रहण गरेको थियो । साविकको जयसपुर गाविसमा २०६७ मा नेपाल सरकारले जग्गा अधिग्रहण गरी संरक्षण गरेर राखेको थियो ।
आइसिपी निर्माणका लागि नेपाल सरकारको तर्फबाट सहजीकरण गर्ने जिम्मा शहरी विकास तथा भवन निर्माण विभागलाई दिइएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इन्जिनीयर होमनाथ भुसालले भारत सरकारले सहमति र प्रतिबद्धताअनुसार नेपालगञ्ज नाकामा आइसिपी निर्माण शुरु गरिसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १६ फागुन २०७७, १५ : ५२
लेखकबाट थप